Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेप्से ३ हजार अङ्कको कीर्तिमान विन्दुमा, झण्डै १९ अर्बको कारोबार

काठमाडौं  : सेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ। सातको दोस्रो सोमबार नेप्से ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको हो।
​नेपाली सेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो। यो दिन झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ। आइतबार १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता सेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ।

आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय ५८, फाइनान्सको २५, जीवन बीमा समूहको ८१ र निर्जीवन बीमा समूहको तीन सय सात अङ्कले बढेको छ। व्यापार, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन आज १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ। तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ।

लामो समयदेखि सुस्त रहेको वाणिज्य बैंक समूहमा विस्तारै लगानीकर्ताको आकर्षण देखिन थालेको हो। सोमबार अधिकांश वाणिज्य बैंकको सेयर मूल्य बढेको छ। मूल्य सामान्य हिसाबले मात्र बढेको भए पनि यस समूहका कम्पनीहरुको खरिदबिक्री कित्ता राम्रो छ।

यतिबेला औसतमा सबैभन्दा सस्तो मूल्य वाणिज्य बैंकहरुकै रहेको देखिन्छ। सबल वित्तीय सूचक, सक्षम नियमन भएको क्षेत्र भए पनि वाणिज्य बैंकहरुको बजार मूल्य भने निकै तल छ। अहिले सबैभन्दा सुरक्षित लगानीको क्षेत्र पनि बैंक नै मानिएको छ।

सोही विश्लेषणका आधारमा आम लगानीकर्ताहरु विस्तारै बैंकतिर आकर्षित हुने अनुमान गरिएको छ। सस्तो ब्याजदर, बैंकमा सहज तरलता अनि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दा नेप्सेले नयाँ–नयाँ उचाइहरु बनाउन सकेको हो।