Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

एमालेले अडान नछोडेपछि कर्णाली प्रदेशसभा बैठक चल्न सकेन


सुर्खेत  :  प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाएका छन । एमालेले आफ्नो अडान नछोडेपछि कर्णाली प्रदेशसभा बैठक चल्नै सकेको छैन । पहिलो र दोस्रो बैठकमा लगातार चार पटकको अवरोधले बैठक चल्न सकेको छैन ।

हरेक बैठकमा अवरोध नगर्न आग्रह गर्दै सभामुख राजबहादुर शाहीले बैठक अघि बढ्न नसकेपछि आधा घण्टाका लागि भन्दै बैठक स्थगित गर्ने गरेका छन् । त्यसअघि बुधबार बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आलोचना गरेका थिए ।

एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको हो । यस बिषयमा बुधबार बसेको सर्वदलिय बैठक समेत निष्कर्श विहिन बनेको थियो ।
मन्त्री थापा एमाले मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बनेका थिए ।