Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

प्रतिनिधिसभा विघटन कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा

काठमाडौँ :  सर्वोच्च अदालतले पुनस्र्थापना गरेको करिब तीन महिनामै प्रतिनिधि सभा पुनः विघटन गरिएको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन सदर गर्नुभएको हो । विघटनसँगै दुई चरणमा निर्वाचनको मितिसमेत प्रस्ताव गरिएको छ । आउँदो २०७८ कात्तिक २६ मा पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा निर्वाचन घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय प्रतिनिधि सभाले अपेक्षित काम गर्न नसकेको, सरकारले अघि सारेका बिजनेस अघि नबढाएको बताउँदै आएका थिए । पछिल्लो समय नयाँ सरकार गठन वा गठित सरकारले विश्वासको मतसमेत पाउन नसकेपछि विघटन सिफारिस गरिएको हो ।
विघटन सदरसम्बन्धी राष्ट्रपति कार्यालयको वक्तव्यमा भनिएको छ, ‘‘मन्त्रिपरिषद्बाट मिति २०७८÷२÷८ गते निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकाले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ ।

नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बन्न नसकेपछि ७६(३) अनुसार गठित सरकारले नै विघटन सिफारिस गरेको हो । उपधारा ७ बमोजिम विघटन सिफरिस गरिएको हो । विघटनका पूर्वसर्तमा उपधारा ५ अनुसार कुनै पनि सांसदले सरकार गठनको दाबी नगरेमा पनि विघटन गर्न सक्ने अवस्था छ । उक्त अधिकार उपधारा ३ अनुसार गठित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गठित मन्त्रिपरिषद्ले प्रयोग गर्नसक्ने संवैधानिक प्रावधान छ । सोहीअनुसार प्रतिनिधि सभा विघटन सिफारिस भएको हो ।
पाँच वर्षको कार्यकाल रहेको प्रतिनिधि सभा पछिल्लो छ महिनाको अवधिमा दोस्रो पटक विघटन भएको हो । यसअघि पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएको थियो । तर सर्वोच्च अदालतले विघटन असंवैधानिक भन्दै पुनस्र्थापना गरेको थियो । अदालतले विघटनमा संविधानको धारा ७६ ले परिकल्पना गरेका सर्तहरू पूरा नभएको भन्दै पुनस्र्थापना गरेको थियो । अदालतले फागुन ११ गते पुनस्र्थापनाको फैसला गरेको थियो ।