Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको अध्यक्षमा बोहरा

धनगढी  :  सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहरा नियुक्त भएका छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो।

बोहरा कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए। कैलालीबाट गृह मन्त्रालय सरुवा भएका बोहराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिनाअगाडि राजीनामा दिएका हुन्।बोहरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकारसम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई शपथ खुवाउन बिहीबारको प्रदेश सभा बैटकबाट ऐनमा संशोधन गरिएको हो।

यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो। प्रदेश सरकारले लोक सेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि शपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो।आयोगमा पदाधिकारी नियुक्त भइसकेका कारण शपथ खुवाउन ऐन संशोधन गर्न छोटो प्रक्रिया अपनाइएको छ।

बिहीबार नै प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक ७२ घण्टापछि मात्रै छलफलमा आउने भए पनि संशोधनसम्बन्धी विधेयक प्रदेश सभा नियमावलीको नियम ११० निलम्बन गर्दै पारित गरिएको छ।