Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

मध्यहाडी राजमार्ग निर्माणमा बाल मजदुरको प्रयोग

दैलेख :  राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेको छ । निर्माणाधिन राजमार्ग अन्तरगर्त दैलेख खण्डको विभिन्न स्थानमा खुलेआम बाल श्रमिक प्रयोग भएको पाईएको हो । सरकारी वेवास्ता र चरम लापरबाहीका कारण पढ्ने उमेरका बालबालिका विद्यालय जान छोडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । राजमार्ग अन्तरगर्त दैलेख खण्डमा पुल निर्माण, सडक ग्राभेल, सडक कालोपत्रे, नाली निर्माण लगायतका कार्यका बालबालिकाले काम गरिरहेका छन् । १२ देखि १८ बर्षसम्मका बाल मजदुरहरुले राजमार्ग निर्माणको जोखिमपूर्ण काम गरिरहेका हुन् । त्यस्ता बालबालिकाहरु जिल्ला भित्रै र कतिपय जिल्ला बाहिरका छन् ।

सरकारले २०८२ भित्र नेपालबाट सबै प्रकारका बाल श्रम अन्त्य गर्ने गरी ‘बाल श्रम राष्ट्रिय गुरु योजना’ जारी गरिसकेको छ । २०७९ सम्म अतिसंवेदनशील क्षेत्रमा रहेको बाल श्रम अन्त्य गर्ने र २०८२ भित्र सबै प्रकारको बाल श्रम अन्त्य गर्ने गरी राष्ट्रिय गुरु योजना जारी गरिएको थियो । तर, राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेको हो । राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेकोबारे स्थानीय प्रशासन र मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले वेवास्ता गरेको अधिकारकर्मीहरु बताउँछन् । राजमार्ग निर्माणमा बालबालिकाको प्रयोग अत्याधिक अधिकारकर्मी प्रभा विक बताउँछन् । जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन पाईदैन,’ विक भन्छन् ‘यसबारे स्थानीय प्रशासन र सरोकारवाला निकायले अनुगमनको पाटोलाई बलियो बनाउनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेको गुनासो आएकोले अनुगमनलाई दरिलो बनाउने बताउँछन् । ‘कानुन विपरित बालबालिकालाई श्रममा लगाउन पाईदैन्,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने ‘राजमार्गमा बालबालिका प्रयोग भईरहेकोबारे अनुमगन गरेर बाल श्रम राख्न दिदैँनौ ।’ राजमार्गमा काम गर्ने अन्य मजदुरको सुरक्षामा पर्याप्त ध्यान नदिइएको उनी बताउँछन् ।
यता मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले गत मंसिर पहिलो साता निर्माण राजमार्ग निर्माणको जिम्मा पाएका कम्पनीहरुलाई बाल श्रम प्रयोग नगर्न नगराउन भन्दै पत्र लेखेर पन्छिएको छ । योजना कार्यालय दैलेखका प्रमुख इन्जिनियर अर्जुनकुमार बमद्धारा हस्ताक्षरित पत्रमा कार्यालय अन्तरगर्त सञ्चालित कुनै पनि निर्माण कार्यमा बालबालिका प्रयोग नगर्न भनिएको छ । कार्यालय पत्र लेखेर पन्छिएको छ भने साइड इन्चार्ज र निर्माण कम्पनीले वेवास्ता गरिरहेका छन् । राजमार्ग अन्तरगर्त दैलेख खण्डमा पर्ने एक सय २५ किमिमध्ये हालसम्म १९ किमि कालोपत्रे भएको छ । बाँकी खण्ड स्तरोन्नतिको कामले भईरहेको छ ।
राजमार्गमा मात्रै होइन, जिल्लाका ठूलादेखि साना होटेल, मोटरसाइकल वर्कसप, मोटर ग्यारेज र यातायात क्षेत्रमा खुलेआम बाल श्रम भइरहँदा पनि सम्बन्धित निकाय मौन छन् । सामाजिक, आर्थिक, पारिवारिक लगाएत विभिन्न कारणले समस्यामा परेका बालबालिका दैनिक गुजारा चलाउन होटेल रेस्टुरेन्ट, यातायात, सडक निर्माणमा बाल श्रमिकका रूपमा काम गदै आएका छन् । जिल्लामा बालअधिकार संरक्षणका लागि सरकारी र दर्जनौ गैरसरकारी संस्था काम गर्दै आए पनि अझै बाल श्रमको अवस्था उस्तै छ ।
कानुनी व्यवस्था
नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना खानी तथा अन्य जोखिमपूर्ण काममा लगाउन नपाईने व्यवस्था गरेको छ । संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासका साथै बाल विकास र बाल सहभागिताको हक प्रत्याभुत गरेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्षमुनिकालाई बालबालिका भनेको छ । ऐनले १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन, घरेलु कामदार वा कमलरीका रूपमा राख्न नपाइने व्यवस्था गरेको छ । यसअघि बालश्रम ९निषेध र नियमित गर्ने० ऐन, २०५६ ले चौध वर्ष नपुगेकालाई कसैले पनि श्रमिकका रूपमा काम लगाउन नपाउने भनेको छ । मुलुकी देवानी संहिता, २०७४ ले कम्तीमा चौध वर्ष पुगेको कुनै व्यक्तिलाई निजको मञ्जुरी लिई काममा लगाउन सकिने व्यवस्था गरेको छ । तर १६ वर्षअगाडि जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन पाइँदैन् । घरेलु सहायक सम्बन्धी विशेष व्यवस्थामा १८ वर्षभन्दा कम उमेरका लागि उसको मञ्जुरीमा घर–व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नुपर्ने उल्लेख छ । साभार ज्वाला सन्देश