Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेपाल टेलिकमद्वारा कर्णाली प्रदेशमै पहिलो पटक दैलेखमा ‘एफटीटीएच’ मार्फत सेवा सुरु

दैलेख : नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा पुरानो तामाको तारबाट सञ्चालित सम्पूर्ण टेलिफोनको नेटवर्कलाई अप्टिकल फाइबरले विस्थापित गरेको छ ।

कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपछि नगरपालिकाका सबै नेटवर्कलाई फाइबर टु द होम ‘एफटीटीएच’ मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

अहिले नारायण नगरपालिका क्षेत्रमा जम्मा एक हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित झण्डै चार सय १५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ एक सय ६ लाइनसमेत वितरण गरिएको छ ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवासमेत प्रयोग गर्न सकिन्छ । (उज्यालो)