Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

आन्तरिक पर्यटको गन्तव्य बन्दै भ्यू टावर

कमल शर्मा
दैलेख :  जिल्लाको गुराँस गाउँपालिका५ गुराँसे क्षेत्रमा भ्यू टावर निर्माण गरिएको छ । दृश्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तब्य बनाउने र पर्यटक भित्र्याउने उदेश्यले भ्यू टावर निर्माण गरिएको हो । ६१ लाख ९५ हजारको लागतमा भ्यू टावर निर्माण भएको हो । आ.व. ०७५÷०७६ मा २७ लाख ७५ हजार र आ.व. ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यू टावर निर्माणमा खर्च गरिएको छ । त्यसमध्ये स्थानीयले ५ लाख ७० हजार बराबर जनश्रमदान गरेका छन् । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरर्गत डिभिजन वन कार्यालयको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा सरस्वती सामुदायिक वनमा भ्यू टावर निर्माण गरिएको हो ।
हाल भ्यू टावर निर्माण, घेरबार, गुराँसको रुख निर्माण तथा पत्थर विछ्याउने कार्य सकिएको छ । डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले एक मौषममा मात्रै फुल्ने गुराँसलाई बाह्रै महिनासम्म झल्काउने गरी गुराँसको रुख नै बनाइएको बताए । उनले गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति समेत निर्माण गरिएको बताए । उनले भने भ्यू टावरको केहि कामहरु बाँकी नै छन् ‘भ्यू टावरलाई अझै आकर्षक बनाउँन बाँकी छ,’।
गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दाराम चौलागाईले जैविक विविधता झल्कने संरचना निर्माण भएको र थप आर्कषण बनाउँन प्रयास गरिएको बताए । उनले भ्यू टावरसँगै गुराँसको
रुखमा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति हेर्न दैनिक दुई सय भन्दा बढि आउने गरेको बताए ।
नारायण नगरपालिकाका ६ का झलकप्रसाद कोइरालाले कलात्मक शैलीमा निर्माण गरिएको संरचनाहरु अवलोकनका लागि महत्वपूर्ण गन्तव्य भएको बताए । उनले भ्यू टावरबाट सुर्खेत र अछामका विभिन्न भू–भाग, बर्दियाका फाँट, सिंगो दैलेख लगाएत सिस्ने हिमाल, अपीसैपालको दृश्यावलोकन गर्न सकिन्छ ।
गुराँसे क्षेत्रमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट करिब एक घण्टाको नागबेली सडकको यात्रा पछि पुग्न सकिन्छ भने दैलेखका दुई घण्टामा पुग्न सकिन्छ । सुर्खेत दैलेख सडक खण्ड हुँदै दिनहँु हजारौ यात्रुहरु यात्रा गर्छन् । यो सढक हूँदै ओहोर दोहोर गर्नेहरुका लागि भ्यू टावर रोजाईमा पर्ने गरेको छ ।
दुल्लु नगरपालिकाका नविन यौगीले रारा जाने पर्यटकहरु सुमेत भ्युटावरको अवलोकन गर्ने गरेको भएपनि अव त्यहा पञ्चकोशि सर्किट मागको नक्सा राखेर पञ्चकोशिलाई समेत जोड्ने बताउनुभयो । आलु पकेट क्षेत्र मानिने गुराँसे क्षेत्र तरकारीको समेत हव मानिन्छ । चारै तिर देखिने तरकारी खेतीको दृश्य पनि एक मुख्य यहाँको आकर्षण हो ।