Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

जाजरकोटमा चोरीका घटना बढे

जाजरकोट : भेरी नगरपालिका २ दारनेटाका भीबहादुर खड्काको खसी सोमबार राती चोरी भयो । त्यस्तै सोही ठाँउका प्रेमबहादुर वलीको खसी पनि घरबाटै चोरी भयो । उनीहरुले चालै पाएनन् । उनीहरुको मात्र होइन सोही रात दारनेटा र रिसाङ्ग गाँउबाट १३ वटा खसी चोरी भए ।खसी चोरी भएको भोलिपल्ट भेरी नगरपालिका–२ बाहुनथानाका गणेशबहादुर खड्काको घरबाट ५५ हजार र २ तोला सुन चोरी भयो । सोही ठाउँका मिलन खड्का र हर्कबहादुर ताउलेको घरबाट पनि ३५/३५ हजार चोरी भयो । सोही दिन रिसाङकी प्रेमकला शर्माको घरबाट आधा तोला सुन र ४ हजार चोरी भएको प्रहरीले जनाएको छ । तर हालसम्म चोर पत्ता लाग्न सकेका छैनन् ।

चाडपर्व नजिकिएसँगै सदरमुकाम खलंगा नजिकैका गाउँमा चोरीका घटना बढेका छन् । भेरी नगरपालिका–२ बाहुनथानामा एकै रातमा झण्डै एक दर्जन चोरीका घटना भएका छन् । स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपनि प्रहरीको अनुसन्धान प्रभावकारी हुन सकेको छैनन । जसका कारण प्रहरीले अहिलेसम्म चोरीमा संलग्नको पहिचान गर्न सकेको छैन ।

गएका एक सातामा भेरी नगरपालिका–२ का १६ बढी घरबाट ३ लाख नगद, ३ तोला सुन र १३ वटा खसी चोरी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । चोरी बढ्दै गएपछि गाउँगाउँमा त्रास छाएको छ । चोरले खसी, सुन, नगद रुपैयाँका साथै खुद्रा पसलमा रहेका चाउचाउ, साबुन, चिनी, तेल तथा मेडिकलको औषधिसमेत चोरी गरेका छन् । एकपछि अर्को चोरीका घटना हुन थालेपछि कसरी जिउधन जोगाउने भन्ने चिन्ता छाएको स्थानीय टीकाराम खड्काले बताए । उनले भने, ‘चोरलाई समात्न गाउँलेहरु आफै रातभर जाग्राम बसे पनि प्रयास सफल भएन ।’

सदरमुकाम खलंगा नजिकैका रिसाङ, दारनेटा, बाहुनथाना, पोखरालगायत गाउँमा चोरी बढिरहेको स्थानीयको भनाइ छ । चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपछि भरपर्दो सुरक्षा व्यवस्था हुन नसकेको स्थानीय विर्खबहादुर कार्कीले बताए ।

चोरीका घटना बढेपछि गाउँगाउँमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको डीएसपी श्रेष्ठले बताए । चोरी गर्नेहरुको खोजी भइरहेको उनले बताए ।