Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

निषेधाज्ञापछिको सुनसान राजधानी बीरेन्द्रनगर

सुर्खेत : कर्णाली प्रदेशका तीन जिल्लामा एकैदिन सुरु भएको निषेधाज्ञा कार्यान्वयनका लागि प्रहरीले कडाइ गर्न थालेको छ । कर्णालीमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढ्दै गएपछि सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र मुगु सदरमुकाम गमगढी बजार क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै निषेधाज्ञा घोषणा गरिएपछि यहाँका मुख्य बजार क्षेत्र सुनसान भएका छन ।

निषेधाज्ञा घोषणा गरिएपनि स्थानीय नागरिक घर बाहिर तथा बजार क्षेत्रमा निस्कन थालेपछि प्रहरीले कडाइ गर्न थालेको हो । निषेधाज्ञाको पालना नगरी वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रमा खुलेयाम घुमघाम गर्ने स्थानीय नागरिकलाई प्रहरीले कारवाही गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा गर्ने गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको छ ।

नागरिकलाई निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै अटेर गर्नेलाई कारवाहीका लागि प्रहरीले मुख्य बजार क्षेत्रमा निगरानी बढाएको उनले बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले वीरेन्द्रनगमा लकडाउन हटेसँगै बजारमा हुने अत्याधिक भिडभाड हटाउन, नजिकिँदै गरेका चाडवाडमा भिडभाड गर्न नदिन र समुदायस्तरमा कोरोना संक्रमण पुग्न नदिन निषेधाज्ञा घोषणा गर्नुपरेको बताए । साभार