Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विद्युत् आयोजनाको काम अन्तिम चरणमा

रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा उत्पादन हुन लागेको ४० किलोवाट क्षमताको विद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको लगभग सबै काम सकिएको छ । केही मेशिन मात्र जडान हुन बाँकी रहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कूल रु एक करोड ६६ लाखको लगानीमा विद्युत् आयोजनाको काम गरिएको छ । वडाध्यक्ष केसीका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु एक करोड १४ लाख, गाउँपालिकाबाट रु २१ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २० लाख, स्थानीयको सामाजिक कोषबाट रु सात लाख र स्थानीयले उठाएको रु चार लाखको लगानीमा विद्युत् उत्पादनको काम गरिएको छ ।

विद्युत् उत्पादनका लागि आवश्यक केही मेशिनरी सामान जडान गर्न बाँकी रहेकाले सामान आउने बित्तिकै गाउँमा उक्त आयोजनाको विद्युत् बल्ने वडाले जनाएको छ । विसं २०७४ साउनमा सम्झौता भई २०७५ वैशाखबाट शुरु भएको आयोजनाको काम आर्थिक वर्ष २०७६÷७७ मै सम्पन्न गर्नुपर्ने भए पनि लकडाउनका कारण केही समय ढिला हुन पुगेको अध्यक्ष केसीको भनाइ छ । लकडाउनका कारण प्राविधिक जिल्लामा पुग्न नसेकाले केही मेशिन जडान भएका छैनन् ।

अबको दुई महिनाभित्रै उक्त आयोजनाको बत्ती गाउँमा बल्ने उनले बताए । आयोजनाबाट छिपखोला बस्तीलगायत ठस्के र वडा नम्बर ४ को दादिङ, काडाँका करिब ३०० घरधुरी लाभान्वित हुने वडाध्यक्ष केसीले बताए । अहिले छिपखोलाका ४० घरधुरीले तीन किलोवाट क्षमताको विद्युत्गृहबाट उत्पादित विद्युत् बालिरहेका छन् ।