Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

विश्मा कोरोना संक्रमितको संख्या एक करोडको हाराहारीमा


एजेन्सी :  विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेको छ। जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरमा अहिलेसम्म ९७ लाख ७६ हजार ९६३ जना संक्रमित भेटिएको तथ्याङ्क प्रविष्ट गरिएको छ। यस्तै कोरोनाबारे ताजा तथ्याङ्क दिइरहेको वर्ल्डोमिटरले ९९ लाख चार हजार ९६३ जना संक्रमित पहिचान भएको जनाएको छ। अहिलेसम्म विश्वभर चार लाख ९३ हजार ६०९ जना संक्रमितले ज्यान गुमाएका छन्। पहिचान भएका करिब ५३ लाख संक्रमितहरु उपचारपछि निको भएका छन्।

जापानमा शुक्रबार थप १०० जना संक्रमित भेटिएका छन्। मे ९ तारिखपछि जापानमा हिजो सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। अमेरिकामा हिजो एकैदिन ४० हजार ८७० जनामा संक्रमित थपिएका छन्। अहिलेसम्म त्यहाँ संक्रमित संख्या २४ लाख ६७ हजार ६५८ जना पुगेको छ। संक्रमितमध्ये एक लाख २५ हजार ४६ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा शुक्रबार अमेरिकामा भन्दा पनि धेरै संक्रमित पहिचान गरिएको छ। त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै अर्थात ४६ हजार ८६० जना संक्रमित थपिएका हुन्।

ब्राजिलमा हिजो एकैदिन ९९० जना संक्रमितको ज्यान गएको छ। अहिलेसम्म १२ लाख ७४ हजार ९७४ संक्रमित भेटिएका छन् भने ५५ हजार ९६१ जनाको ज्यान गएको छ। अस्ट्रेलियाको मेलवर्नमा धमाधम कोरोना संक्रमित भेटिएपछि चिन्ता गहिरिएको बीबीसीले उल्लेख गरेको छ। यहाँ कुन स्रोतबाट संक्रमण फैलिरहेको छ भन्ने थाहा लाग्न सकेको छैन। कोरोनाबाट अतिप्रभावित मुलुकमध्ये पाँचौं स्थानमा रहेको बेलायतले आउँदो जुलाई ६ तारिखदेखि विदेशी यात्रु आवागमनमा लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको छ। कम संक्रमित भेटिएका युरोपेली मुलुकका यात्रुहरु अब बेलायत जान पाउने भएका छन्।

ती देशबाट आउने यात्रुहरुलाई क्वारेन्टाइनमा समेत नराखिने भएको छ। ल्याटिन अमेरिकी देशका ग्रामिण इलाकासम्म कोरोना भाइरस फैलिएको समाचार सार्वजनिक भएका छन्। अर्जेन्टिनी सरकारले व्युनस आयर्सनजिकका क्षेत्रमा लगाइएको लकडाउन थप कडा पारिदिएको छ। भारतमा अहिलेसम्म चार लाख ९० हजार ४०१ जना संक्रमित भेटिएका छन्। ज्यान गुमाउने संक्रमितको संख्या १५ हजार ३०१ पुगेको छ।