चीनबाट आइपुग्यो ३० हजार थान पिसिआर टेष्ट किट
काठमाडौ : चीन सरकारले (कोभिड–१९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट काठमाडौ आइपुगेको छ। यसअघि चीन सरकारले आइतबारसम्म उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयका अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए। चीनको छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट सामान बोकेर काठमाडौंका लागि उडेको हिमालय एयरलायन्स बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समान ल्याइपुर्याएको बताइएको छ। चीन सरकारले सहयोगस्वरूप उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये आज ३० हजार आएको र बाँकी १० हजार भोलि बिहान आइपुग्ने महानिर्देशक श्रेष्ठले बताए। उनले भने, ‘सामान दुई चरणमा आउने भनिएको थियो त्यहीअनुसार आज ३० हजार पिसिआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको छ बाँकी भोलि आउने खबर आएको छ।’ यता, हिमालय एयरलायन्सले आफ्नो कार्गो उडानमार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ।