Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

मध्यराति जंगलमा बैठक बसिरहेका विप्लवका २१ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्ता दाङबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका छन्।

वीरजंग चन्द पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु भएको बताइएको छ।

दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट मध्यराति उनीहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।

‘जंगलको बीचमा रहेको मान्छे नबस्ने एक्लो घरमा बैठक बसिरहेको अवस्थामा हामीले उनीहरुलाई पक्राउ गरेका हौँ’, एसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरुलाई घटनास्थलबाट हामीले प्रहरीको गाडीमा राखेर सदरमुकाम ल्याउँदैछौँ। थप विवरण पछि खुलाउँछौँ।’

पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।

जंगलमा बैठक तयारी भइरहेको सूचनाका आधारमा प्रहरी कार्यक्रम स्थल पुगेको थियो। बिहीबार राति १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नेता कार्यकर्ता लगातार पक्राउ परिरहेका छन्। केही केन्द्रीय तहकै नेताहरू अहिले जेलमा छन्।

तर प्रतिबन्ध लगाएयता संभवतः बिहीबार राती दाङबाट भएको यो पक्राउ सबैभन्दा ठूलो स्तरको हो।

विप्लव नेतृत्वको नेकपाले पनि आफ्ना नेता कार्यकर्ता पक्राउ परेको पुष्टी गरेको छ।

घटनास्थल दाङको नेपाल–भारत सीमा क्षेत्रमा पर्छ।

Source: Nepal Khabar