Loading... आजः शनिबार, फाल्गुन १५, २०७७
Trending

आज नेवार समुदायका बस्तीहरुमा गाईजात्रा र घिन्ताङगिसी व्यङ्ग्यात्मक सांस्कृतिक पर्व मनाइदै

भक्तपुर । नेवार समुदाय र बस्तीमा मनाइने अनेक चाडबाडमध्ये गाईजात्रा पनि एक हो । यसमध्ये भक्तपुरको गाईजात्रा पर्वको छुट्टै पहिचान र मौलिकता छ । यहाँको गाईजात्रा सांस्कृतिक, ऐतिहासिक, सामाजिक हिसाबले महत्वपूर्ण मानिन्छ । गाईजात्राकै क्रममा देखाइने घिन्ताङगिसी, ख्याल, नाटक, नाचगान र अन्य विधाहरूमार्फत घोचपेच गरिएको हुन्थ्यो । यसैले गाईजात्रा मनोरञ्जनात्मकमात्र होइन व्यङ्ग्यजात्रा पनि हो । यो पर्वमा यहाँ रहेका परम्परागत विभिन्न नाचगानहरू देखाइन्थ्यो । यसैले यो सांस्कृतिक पर्व पनि हो । यहाँ रहेका परम्परागत नाचगानमात्र होइन घिन्ताङगिसी, ख्याल, नाटक प्रदर्शन गरेर विभिन्न नृत्यमार्फत गीत गाएर व्यङ्ग्य पनि हुन्थ्यो । यसकारण गाईजात्रा घोचपेच गर्ने जात्रा पनि हो । घिन्ताङगिसीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको व्यङ्ग्य गरिएको हुन्छ ।

यो जात्राको महत्वपूर्ण पक्ष घिन्ताङगिसी हो । बाजाको ताल रलयमा सबैले आफ्नो खुट्टाको चाल मिलाएर घिन्ताङगिसी नाच्छन् । एउटै लय र तालमा सबैले एउटै चालमा नाच्नुपर्छ । तर, आजभोलि घिन्ताङगिसीमा पनि पच्छिमेली शैलीले छोएको छ र घिन्ताङगिसीको नाचमा विकृतिले ढाक्दै छ । पुराना पुस्ताका युवा तथा पाक्व उमेरका व्यक्तिहरू परम्परागत शैलीमा नाच्छन् । पुरानो शैलीको त्यो नाचलाई नयाँ पुस्ताले अनुकरण गर्न सकेको छैन । यो नाचको अर्काे विशेषता मृतकका घर – घरबाट ल्याइने ‘गाई’ प्रतीकको ‘ताहामचा’ र ‘साँचा’ हो । स–साना बालबालिका मरे ‘साँचा’ र ठूला या उमेर पुगेका व्यक्ति मरे ‘ताहामचा’ बनाएर निश्चित मार्गमा घुमाइन्छ । पुरुष मरे पुरुषको भेषमा र महिला मरे महिलाकै भेषमा ‘ताहामचा’ र ‘साँचा’ बनाइन्छ । यस दिन घुमाइने ‘साँचा’ र ‘ताहामचा’ का प्रत्येक टोलीलाई प्रसाद (मालपुवा र स्वारी) या अन्य खाद्यवस्तु दिने चलन छ । यसले त्यो नगरमा कतिजना नेवारहरू मरे भन्ने थाहा हुन्छ ।

गाईजात्राको दिन बेलुकीपख परालै परालले बनेको भैल द्यो ल्याइन्छ । भैल द्यो ल्याएपछि त्यस पछाडि घिन्ताङगिसी ल्याउनु हुन्न भन्ने मान्यता छ । भैल द्यो ल्याउने क्षेत्रमा मरेका परिवारबाट भैल द्योको पछाडि ताहामचा ल्याउनुपर्ने चलन अद्यापि छ । गाईजात्रको दिन ल्याइने घिन्ताङगिसीको नाचपछि अर्काे दिन ‘शून्य’ भनेर कुनै पनि जात्रा या घिन्ताङगिसी नगर परिक्रमा गरिंदैन । त्यसको भालिपल्ट साँझपखदेखि राति अबेलासम्म टोल – टोलमा रहेका परम्परागत नाचगान, ख्याल, नाटक, नृत्य आदि ल्याइन्छ र यो कृष्ण जन्माष्टमी सम्म चालू रहन्छ ।

error: Content is protected !!