Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पार्टी एकतापछिका बाँकी काम साउन भित्रै टुंग्याउछौं : दाहाल

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम केही दिनभित्रै ट्ग्युांउने बताएका छन् । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताको काम करिबकरिब निष्कर्षमा पुगेको जानकारी दिएका थिए ।

‘एकदुईटा विषयमा औपचारिकता दिन मात्रै बाँकी छ। केही दिनभित्र सबै कुरा टुङ्ग्याउछौं,’ उनले भने। दाहालले साउन महिनाभित्रै पार्टी एकताको बाँकी काम ट्ग्युांउने, स्थायी कमिटी (समिति) र केन्द्रीय कमिटी (समिति)को बैठक बसी देशव्यापी अभियानमा जाने कार्यक्रम बनाउने बताए।

‘एक वर्षमा पार्टी एकता, कार्यविभाजन ढिलो भयो, हजारौं लाखौं नेता कार्यकर्ताहरुले काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने चिन्ता थियो, त्यो चिन्तालाई दुर गर्ने, कार्यकर्तालाई आम रुपमा उत्साहित गर्ने, जनतालाई उत्साहित गर्ने, सुशासन र विकासमा एउटा मोडेल प्रस्तुत गर्ने उद्देश्यका साथ जानु छ,’ दाहालले भने।

दुई पार्टी एक हुन सक्दैनन् भन्ने प्रतिक्रियावादीको भ्रम फैलाउने कोसिसलाई पार गर्दै अघि बढेको भन्दै अध्यक्ष दाहालले त्यसरी नै पार्टी एकता सुदृढ हुँदैन भन्नेलाई पनि जवाफ दिनुपर्ने बताए।
अध्यक्ष दाहालले आफूहरु पुष्पलालकै सन्तति र उत्तराधिकारी भएको बताए थिए।
विभाजन भएको पार्टीलाई एकतावद्ध गर्ने प्रयास र पञ्चायत विरुद्ध मिल्न सक्नेलाई मिलाउने काम पुष्पलालले गरेको भन्दै अध्यक्ष दाहालले भने, ‘हामी पुष्पालकै सन्तति हौं पुष्पलालकै उत्तराधिकारी हौं।’ पुष्पलालको सपना अनुसार जनवादी क्रान्ति पुरा भएको र अब समाजवादतर्फ जाने दाहालको भनाई थियो।
अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा तेस्रो महाधिवेशनपछि एकले अर्कालाई अवसरवादी, गद्दार, दलाल भन्ने श्रृङ्खला नै चलको र त्यस समयमा पुष्पलाललाई बेसरी गाली गर्ने स्कुल (विचारधारा) पनि भोगेको बताए। पुष्पलालले निरंकुश राजतन्त्र र पञ्चायती शासन विरुद्ध गरेको आन्दोलन सबैभन्दा महत्वपूर्ण भएको दाहालको भनाइ थियो। पुष्पलालको लाइनबाट नै तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य भएको उनले बताए।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकीकरण गर्न विलम्ब भएको बताए। ‘जुन काम पहिल्यै गर्न सकिन्थ्यो त्यसको निम्ति समय लाग्यो। तर अब कार्यविभागन गर्दै अगाडि बढ्नुपर्छ।’ नेता नेपालले पार्टीभित्र राम्रा र नराम्रा दुवै प्रवृति हुने भन्दै पार्टीको छवि धुमिल हुनबाट जोगाउन पार्टी शुद्धिकरण गनुपर्ने बताए।

नेता झलनाथ खनालले आधारभुत रुपले नेपाल कम्युनिष्ट पार्टी ठिकै दिशातर्फ अगाडी बढेपनि चुनौतिहरु देखापर्न थालेको बताए। नेकपाको काँधमा जनताको विश्वास कायम राख्दै सिंगो समाज रुपान्तरण गर्नुपर्ने अभिभारा रहेको उनको भनाइ थियो।

पुष्पलालका भाइ विजयलाल श्रेष्ठले भ्रष्टाचार लगायतका समस्या रोक्न नसके नेपाल कम्युनिष्ट पार्टीलाई पनि जनताले साथ नदिने बताएका थिए।

पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको कार्यक्रममा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेकपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। अध्यक्ष दाहाल, नेता नेपाल, खनाल, गौतम लगायतले पुष्पलालको शालिकमा मार्ल्यापण गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी हुने जनाइए पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दिएका थिए।

कान्तिपुर  खबर  बाट