Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

यतिबेला किन आइरहन्छ हावाहुरी?

२० वैशाख,काठमाडौंमा। बुधबार साँझ बादलको गड्याङगुडुङ गर्जनसहित चलेको हावाहुरी र बर्सेको पानीले एक महिनाअघिको बारा घटना याद दिलायो।

यही चैत १७ गते बारा र पर्सामा आएको हुन्डरीले २८ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। जल तथा मौसम विज्ञान विभागले उक्त हुन्डरी ‘टोर्नाडो’ भएको जनाएको छ।

विनाशकारी ‘टोर्नाडो’ को धङधङी बाँकी छँदै बुधबार काठमाडौं, ललितपुर र भक्तपुरको मौसम बिग्रेको हो। काठमाडौं उपत्यकाकै जस्तो हावाहुरी धादिङ, चितवन र नुवाकोटमा समेत आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हामीले यसबारे विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसँग कुरा गर्यौं।

मौसम विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले अहिलेको याम हावाहुरी सामान्य भएकाले सबैलाई सचेत रहन सुझाव दिए।

‘यो हावाहुरी चल्ने याम नै हो। सामान्यतया चैत, वैशाख र जेठमा हुरीबताससहित मेघ गर्जन र बिजुली चम्किने हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ पानी पनि पर्छ। हिउँद सकिएर मनसुन सुरू नहुँदासम्म यो क्रम चल्छ।’

यस्तो हुनुको वैज्ञानिक कारण के त?

श्रेष्ठका अनुसार सामान्यतया तातो मौसममा यस्तो अवस्था सिर्जना हुन्छ। दिउँसो चर्को घाम लागेर जमिन तात्छ। तातेको जमिनबाट तातो हावा माथि जान्छ।

त्यही हावा आकाशमा पुगेर चिस्सिएपछि बादल बन्छ र पानी पर्छ। त्यही बेला वायुमण्डल अस्थिर भए मेघ गर्जंदै बिजुली चम्किन्छ। यसले हावाहुरी ल्याउने बादल बनाउँछ।

मौसमको यो गतिविधि मुख्य रूपमा पूर्वी र मध्य नेपालमा हुने उनी बताउँछन्।

यसका दुई कारण छन्- स्थानीय वायुको प्रभाव र भारतको बंगाल क्षेत्रबाट आउने पश्चिमी वायु।

बुधबार काठमाडौं लगायत क्षेत्रमा आएको हावाहुरीमा स्थानीय वायुकै भूमिका धेरै रहेको उनले बताए। बुधबार काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियसम्म पुगेको थियो। दिउँसो धेरै तातो भएपछि साँझ वायुमण्डल अस्थिर भएर हावाहुरी आएको उनले बताए।

‘जति तातो बढ्यो, हावाहुरीको सम्भावना उति बढ्छ,’ उनले भने, ‘नेपालको पूर्वी र मध्य भागको तापक्रम यो याममा बढी हुने भएकाले हावाहुरीको सम्भावना धेरै हुन्छ। पश्चिममा पनि तापक्रम धेरै भए सम्भावना बढ्छ।’

उनले नेपालगन्जको उदाहरण दिए, जहाँ हावाहुरी र भूमरीको सम्भावना धेरै हुन्छ।

पश्चिमी वायुको कुरा गर्दा यतिबेला भारतको तटीय क्षेत्र बंगालदेखि आसामसम्मको क्षेत्र तातो छ। हावाहुरी र आँधीतूफान आउने बेला यही हो।

भारतको बंगालमा अहिले सामुद्रिक आँधीले सताइरहेको छ। उडिसा राज्यका करिब ८ लाख मान्छेलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘फानी’ नामको आँधी दुई सय किलोमिटर प्रतिघन्टाको गतिमा आउने अनुमान मौसमविद्हरूले गरेका छन्। नेपाली मौसमविद्हरूले बारा र पर्सामा लगभग यति नै वेगको भूमरी आएको अनुमान गरेका थिए।

बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको आँधी शुक्रबार बंगलादेशतिर जानेछ। नेपालको मौसम पूर्वानुमान महाशाखाले उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव यहाँ पर्न सक्ने बताएको छ।

फानीको यही प्रभावले नेपालको पूर्वी र मध्य भागमा शुक्रबार हावाहुरी, चट्याङ र वर्षाको सम्भावना छ। देशभरको मौसममा बदली र हिमाली भेगमा हिउँ पर्ने पूर्वानुमान गरिएको छ।

पश्चिमी वायुको प्रभावसँगै पूर्वी तथा मध्य नेपालको भौगोलिक र जलवायु विशेषताले पनि प्रभाव पार्ने श्रेष्ठले बताए।

‘वायुमण्डलमा हावाहुरी ल्याउने बादल बनाउन जुन चिसोपना चाहिन्छ, त्यो हाम्रो पूर्वी र मध्य भागमा बढी हुन्छ,’ उनले भने, ‘पूर्वी पहाडमा बनेर सक्रिय भएको बादल विस्तारै तराईतिर झर्छ। यसले पहाडमा पानी पार्ने र तराईमा भूमरी तथा हुरीबतास ल्याउने वातावरण बनाउँछ।’

उनका अनुसार यो क्रम अझै एक महिना चल्छ। सामान्यतया जुन १० तारिखबाट मनसुन सुरू हुने मानिन्छ। जलवायुको अवस्थाअनुसार कहिलेकाहीँ ढिलोचाँडो हुने उनले बताए।

हावाहुरी चल्नु सामान्य मानिए पनि सावधान भने रहनुपर्ने उनी सुझाउँछन्।

‘कत्रो हुरी आउँछ भन्ने यकिन हुँदैन। हलुका सामान उड्न सक्छन्। खस्न सक्छन्। रूख ढल्न सक्छन्। बाटामा हिँड्दा ध्यान पुर्याउनुपर्छ,’ उनले भने, ‘धूलो धेरै उड्ने भएकाले सवारीसाधन चलाउँदा होस् पुर्याउनुपर्छ।’

सरकारीस्तरमा पनि सर्वसाधारणलाई मौसमबारे जानकारी दिँदै सावधानी अपनाउन सचेत गराउनुपर्ने उनले बताए। हामीकहाँ मौसमबारे राम्रो जानकारी नहुँदा दुर्घटना सम्भावना धेरै छ।

‘बारामा त अहिले पनि मान्छे तर्सेका छन् भन्ने सुनेको छु,’ घटनालगत्तै मौसम विभागले खटाएको अध्ययन टोलीका सदस्य श्रेष्ठले भने, ‘सानो हुरी आउँदा पनि मान्छे डराउन थालेका छन्। त्यसैले सर्वसाधारणलाई यस्ता विपदबारे जानकारी र सूचना हुनुपर्छ।’

ठूलो हुरी वा वर्षाको पूर्वानुमान भएका बेला सूचना दिइनुपर्ने उनी सुझाउँछन्। जलवायुको स्वरूप परिवर्तन भइरहेकाले यसले नयाँ-नयाँ जोखिम ल्याउन सक्छ। नेपालको मौसमबारे सक्रिय भएर काम थालिनुपर्ने उनले बताए।

सेतोपाटी बाट