Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

रक्सी तस्करले प्रहरीको हतियार लुट्यो

१८ वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ ।

गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् । उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ ।

घटना बुधबार बिहान २ बजेतिरकै हो । घटनास्थलमा प्रहरी परिचालन गरी हतियार लुट्नेहरुको खोजी थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भारततर्फ रक्सी तस्करी गर्न खोज्नेहरुसँग नेपाल प्रहरीको झडप भएको बताए । ‘प्रहरीसँग तस्करको झड्प भएको सुनेको छु’ कार्कीले भने, ‘हतियार लुटेको थाहा छैन ।’

घटनास्थलमा अर्का डिएसपी ज्ञान मेहताको नेतृत्वमा टोली खटिएको बताए ।

Online Khabar