Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सङ्घीय संसद्को चौथो अधिवेशन शुरु

१७ वैशाख, काठमाडौं ।  सङ्घीय संसद्का दुबै सदनको चौथो अधिवेशन आज शुरु भएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले यही बैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम पेश गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही बैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको सभामुख महराले जानकारी दिनुभयो ।

दुबै सदनको आजको बैठकलाई विभिन्न दलका नेताहरुले सम्बोधन गर्नु भयो ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुई तिहाईको सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेपनि त्यस अनुसारको काम हुन नसकेको बताउनुभयो ।

सभापति देउवाले लामो समय भईसक्दापनि निर्मला पन्त हत्या प्रकरणमा संलग्नलाई पक्राउ गर्न नसकिएको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको र सरकारले कामभन्दा कुरा बढी गर्ने गरेको आरोप लगाउनुभयो ।

सभापति देउवाले जनविरोधी काम हुन नदिन नेपाली काँग्रेसले ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको कार्यान्वयनमा थुपै आधारहरु थप्ने कार्य यस अघिको अधिवेशनले गरेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले हावाहुरी पीडितहरुको पुनरस्थापनाको काम सेनाबाट नभई स्थानीय तह र प्रदेश मार्फत गर्दा उपयुक्त हुने विचार व्यक्त गर्नु भयो ।

बैठकमा संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले नागरिकता समस्याको छिटो समाधान खोज्न पर्ने र मिचिएका सरकारी जग्गा सबै ठाउँमा खोज गरी सरकारको मातहत ल्याउनु पर्ने बताउनुभयो ।

नयाँ शक्ति पार्टीका नेता डा. बाबराम भट्टराईले बालुवाटार लगायतका जग्गाहरुका सम्बन्धमा सही छानबीन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

राप्रपाका सांसद राजेन्द्र लिंगदेनले सरकारले अपेक्षा अनुसारको काम गर्न नसक्दा जनतामा निरासा रहेको धारणा राख्नु भयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले नागरिकताका सम्बन्धमा गृहले गरेको परिपत्र खारेज गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यकोषबाट पारिश्रमिक पाउनेहरुको ट्रेड यूनियन रहन नहुने बताउनुभयो ।

प्रतिनिधि सभाको आजको बैठकले अधिवेशन चालु नरहेको अवधिमा पूर्व सांसदहरु दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी, रामकृष्ण ताम्राकार र भिक्षु अश्वघोषको निधन भएकोमा शोक प्रस्ताव पनि पारित गरेको छ ।