Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चिनियाँ कम्पनी सिएमइसीले नेपालमा साढे २ खर्ब बढी लगानी ल्याउने

 

२० चैत, काठमाडौं । चिनियाँ कम्पनी चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशयसहित प्रस्ताव दर्ता गरेको छ ।

लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो ।

उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त गरेको छ ।

सम्भाव्यता अध्ययन भईसकेका यी पाँच आयोजनाहरुको लागत करिब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । यी पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

खानेपानीका यी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी चाईना एक्जिम बैंक मार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराईएको सिएमइसीको नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए ।
कम्पनीले सबै आयोजनाहरुमा लगानी छिटो जुटाउन ईन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए ।
उनले भने, ‘खानेपानी जस्तो कुरा जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरु केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । सोही अनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने कम्पनीले प्रस्ताव गरेको छ ।’
यसैगरी सिएमइसीले सामाखुसी टोखा नुवाकोटको छहरे सडक तथा सुरुङ मार्ग निर्माणमा समेत चासो देखाई प्रस्ताव पेश गरेको छ । नेपाल र चीन जोड्नका लागि यो सडक अति महत्वपूर्ण रहेको खतिवडाले बताए ।

काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।

कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आईतबार दर्ता गराएको हो । यो आयोजनाको लागत करिब २७ अर्ब रहेको अनुमान गरिएको छ ।
त्यस्तै सिएमइसी कम्पनीले ७५६ मेगावाटको जलाशययुक्त तमोर हाईड्रोपावर आयोजनामा समेत लगानी जुटाई आयोजना अघि बढाउने प्रस्ताव पेश गरेको छ । तीन वर्ष अघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिए ।

सिएमइसी सन् १९७८ मा स्थापना भएको सरकारी कम्पनी हो । यो चीनको उत्कृष्ट १० भित्र पर्ने ईन्जिनियरिङ कम्पनी हो । यसले १ सय ५० वटा देशहरुमा खानेपानी, उर्जा र यातायात लगायत अन्य पूर्वाधारको क्षेत्रमा निर्माणको काम गरिरहेको छ । सन् २०१७ मा यस कम्पनीको वार्षिक कारोबार ३ खर्ब ७८ अर्ब रुपैंयाको भएको थियो । यो कम्पनीको नेट वर्थ (खुद सम्पत्ति) २ दशमलब ५ बिलियन अमेरिकी डलर रहेको छ ।

रातो पाटी बाट