Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

लिभरपुलको रोमाञ्चक जितमा टोट्टनहामको ‘उपहार’ गोल

१८ चैत,काठमाडौं । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले टोट्टनहामलाई २–१ गोलले हरायो । लिभरपुलले खेलको अन्तिममा आत्मघाती गोल उपहारमा रोमाञ्चक बाजी मारेको थियो ।

लिभरपुलको यस जितसँगै प्रिमियर लिगको उपाधि होड रोचक बनेको छ । जितसँगै लिभरपुलको ३२ खेलबाट ७९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ । लिभरपुलसँग हारेको टोट्टनहाम तथा म्यानचेस्टर युनाइटेड समान ६१ अंक बनाउँदै तेस्रो र चौथो स्थानमा छन् ।

लिभरपुलको जितमा रोवर्टो फिर्मिनोले १६औं मिनेटमा हेड मार्फत सुरुवाती गोल गरे । उनले एलेक्सजान्डर आर्नोल्डको पासमा गोल गर्दै घरेलु सर्मथकको मन जितेका थिए । पहिलो हाफमा लयमा देखिएको लिभरपुलले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । ७०औं मिनेटमा टोट्टनहामका लुकास मोउराले गोलगर्दै खेललाई बराबरीका ल्याए । उनले क्रिस्टियन इरिक्सनको पासमा गोल गरेका थिए ।

बराबरीपछि अत्तालिएको लिभरपुलले गोल फर्काउन निकै कसरत गर्यो । तर, ९०औँ मिनेटमा लिभरपुल भाग्यमानी साविक भयो । लिभरपुलको कर्नर प्रहारलाई रोक्ने क्रममा टोट्टनहामका टोवी एल्डरवेयरको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । सोही गोलनै लिभरपुलका लागि जितको आधार बन्यो ।

यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा चेल्सीले कार्डिफ सिटीलाई २–१ गोलले हरायो । कार्डिफ सिटीको घरेलु मैदानमा भएको प्रतिस्पर्धातमक खेलमा चेल्सीलाई जिताउन केसर एजपिलिक्वेटाले ६१औं र रुवेन लफ्टस चेकले ९०औं मिनेटमा गोल गरेका थिए । यसअघि कार्डिफका भिक्टोर कामारासाले ४६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । छैटौं स्थानमा रहेको चेल्सीले जितसँगै ६० अंक बनाएको छ । २८ अंक बनाएको कार्डिफले रेलिगेसन छल्न सकेको छैन ।

रातोपाटी बाट