Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

काम गर्न सक्दैनौं भन्दै वन कार्यालयले फर्कायो प्रदेशले पठाएको बजेट

१७ चैत, गोरखा । गोरखाको दुई पदमार्ग स्तरोन्नतीका लागि प्रदेश सरकारले पठाएको बजेट डिभिजन वन कार्यालयले काम गर्न नसक्ने भन्दै फिर्ता लैजान आग्रह गरेको छ ।

सोतीखोला–माछाखोला–दोभान पदमार्ग र देउराली–खारचोकभन्ज्याङ–लाप्राक–उहिया–जगत हुदै मनाङ जाने पदमार्ग मर्मत सम्भारका लागि प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पठाएको २० लाख रुपैयाँ डिभिजन वन कार्यालयले फिर्ता लैजान आग्रह गरेको हो ।

‘पदमार्गका लागि वन कार्यालयमा रकम आएको यो पहिलो पटक हो,’ कार्यालय प्रमुख इमनाथ पौड्यालले भने, ‘रकम फ्रिज भएर जाने सम्भावना बढी छ ।’ दुईवटा पदमार्ग मर्मत सम्भारका लागि गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत उक्त रकम बिनियोजन गरेको हो ।

मन्त्रालयले प्राविधिक स्टिमेट गराएर आवश्यक परेको ठाउँमा पदमार्गको मर्मत सम्भारका साथै स्तरोन्नती गर्न भनी रकम पठाएको हो । वन कार्यालयसँग यस्तो काम गरेको अनुभव नभएको र बजेटको अख्तियारी ढिला आएकाले खर्च गर्न नसकिने डिभिजन प्रमुख पौड्याल बताउँछन् ।

‘पदमार्गसम्बन्धी वन कार्यालयमा अहिलेसम्म योजना आएको थिएन, फेरि अख्तियारी पनि ढिला गरी आयो, हामीले यो कार्यक्रम गर्न सक्दैनौं भनेर मन्त्रालयमा भनिसकेका छौं,’ उनले भने । कार्यालयमा उक्त बजेटको अख्तियारी माघ १८ गते आएको थियो ।

‘नयाँ काम पनि भयो फेरि अख्तियारी पनि ढिलो गरी आयो, काम गर्न सक्दैनौं भनेर मन्त्रालयलाई जानकारी गराइसकेको छौं । टिप्पणी उठाएर रकम फिर्ता पठाउनु भनेर मन्त्रालयले भनेको छ,’ कार्यालय प्रमुख पौड्यालले भने ।