Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रधानमन्त्री ओली २ दिन उपत्यका बाहिर : कवि गोष्ठीदेखि पशुहाट उद्घाटनसम्म

१७ चैत, काठमाडौं । लगानी सम्मेलन सकिएको भोलिपल्टदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं बाहिर दुई दिन गुजार्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले आइतबार र सोमबार दुई दिन मोरङ र झापामा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदैछन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, ओलीले आइतबार मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । त्यहाँ निर्मित स्तम्भको पनि अनावरण गर्ने कार्यक्रम छ । साथै मदन भण्डारी स्मृति प्रतिष्ठान अन्तरगत इन्जिनियरिङ कलेजको समेत उदघाटन गर्ने कार्यक्रम छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रम सकेर प्रधानमन्त्री ओली आइतबार गृहजिल्ला झापा जानेछन् र उतै बास बस्नेछन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आइतबार अपराह्न ३ बजे नै प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र दमक नगरपालिका परिसरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक ÷ प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्रीले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आइतबार मोरङमा मदन भण्डारी रंगशाला सम्बन्धी सरोकारवालाहरुसँग पनि छलफल र भेटघाट गर्दैछन् । त्यसपछि झापाको गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरिक्रया गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सोमबार पनि प्रधानमन्त्री ओली बिहानैदेखि उद्घाटन तथा छलफल कार्यक्रममा व्यस्त हुनेछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, दमकस्थित रेडक्रस हलमा आयोजना गर्न लागिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दमकमै निर्माण गरिएको पशुहाटको समेत उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकास्थित स्कुलचौन माविको भवन पनि आफ्नै बाहुलीबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओली चन्द्रगढीबाट काठमाडौं फर्कने कार्यतालिका रहेको उनको सचिवालबाट प्रेसित जानकारीमा उल्लेख छ ।