Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कांग्रेसमा महाधिवेशन लाग्यो, शीर्ष नेता जिल्ला दौडाहामा

चैत १६, काठमाडौं । कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ ।

नेताहरूले जिल्लामा सामान्य कार्यक्रम राखेर जाने गरेका छन् । वर्तमान कार्यसमितिले अहिलेसम्म पार्टीका विभिन्न विभागसमेत गठन गर्न सकेको छैन । प्रमुख भ्रातृसंगठन नेविसंघ, नेपाल तरुण दल पनि लथालिंग अवस्थामै रहेका वेला पार्टीका शीर्ष नेताहरू भने आगामी महाधिवेशनबाट नेतृत्व हात पार्ने अभियानमा जुट्नुलाई कार्यकर्ता असमञ्जसमा परेका छन् ।

देउवा र पौडेल सँगसँगै
कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले २४ देखि २७ फागुनसम्म कास्की, म्याग्दी, पर्वतको कार्यक्रममा संयुक्त सहभागिता जनाए । त्यसपछि उनीहरू पूर्वी नेपाल र पश्चिम नेपालका १० वटाभन्दा बढी कार्यक्रममा तालिका बनाएर निस्किएका छन् । म्याग्दी र पर्वतमा सभापतिको कार्यक्रम तालिका आएपछि पौडेलले पनि आफ्नो लामो भ्रमणसूची सार्वजनिक गरेका थिए ।

अघिपछि ठूलै कार्यक्रम हुँदा पनि जिल्ला नजाने नेताहरू यतिखेर कार्यालय भवनको तला थप्नेदेखि कार्यकर्ता भेटघाटको कार्यक्रम बनाएर जिल्ला धाउन प्रतिस्पर्धामा लागेका छन् । एउटा नेताको भ्रमणसूची आएपछि अर्को नेताले पनि लगत्तै भ्रमणको सूची सार्वजनिक गर्ने र जिल्ला जाने गरिरहेका छन् । एउटा नेता जिल्ला जाँदा उसले नेता–कार्यकर्तासँग सम्बन्ध, सम्पर्क बढाउने र लोकप्रिय हुन सक्ने मनोविज्ञानका कारण पनि अरू नेताहरूले पनि सक्रियता देखाएको देखिन्छ । महाधिवेशन आउनुअघि नयाँ विधानअनुसार बुथदेखि प्रदेश तहसम्मको अन्तरिम पार्टीका संरचना बनाउनुपर्ने, तल्लो तहका अधिवेशन गर्नुपर्ने चाप पनि पार्टी नेतृत्वलाई छ ।

 कार्यकर्ता टाढिन सक्ने डर 
महाधिवेशन आउन झन्डै दुई वर्ष बाँकी भए पनि तल्लो तहसम्मका कार्यकर्तामा आफ्नो पक्षको माहोल नबिग्रियोस् भनेर नेताहरूले स–साना कार्यक्रममा सहभागिता जनाउँदै आएको देखिन्छ । ‘अरू नेताहरू पहिले पनि जिल्लामा विभिन्न कार्यक्रम राखेर घुमिरहेका छन् । तर, यसपटक सभापतिदेखि नेता र महामन्त्री शशांकको जिल्ला दौड बाक्लै देखिएको छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘केन्द्रीय सदस्यलाई अरू महाधिवेशन प्रतिनिधिजस्तै निर्वाचित भएर आउन नपर्ने व्यवस्था केन्द्रीय समितिले पास गरेपछि उहाँहरूले व्यस्त भ्रमणको तालिका बनाउनु अर्थपूर्ण छ ।’

महासमिति बैठकमा प्रतिबद्धता जनाए पनि केन्द्रीय सदस्यलाई स्वतः प्रतिनिधि हुन दिएको र समानुपातिकमा दोहोरिन दिएपछि पार्टी नेतृत्वको आलोचना भएको थियो । यही कारण पार्टीको तल्लो तहसम्म सम्बन्ध र सम्पर्क नबिग्रियोस् भनेर नेताहरूले भ्रमणको शृंखलाबद्ध तालिका राखेको हुन सक्ने पौडेलको भनाइ छ । सभापति देउवाले जिल्लामा प्रभावकारी कार्यक्रम तालिका बनाएका छन् । उनी जुन जिल्ला जान्छन्, त्यहीँ बस्ने र कार्यकर्ता भेट्ने गरेका छन् । नेता पौडेल र महामन्त्री शशांकको संख्यामा धेरै कार्यक्रम बनाए पनि व्यवस्थित तालिका छैन ।

 पार्टी बनाउन सभापतिको सक्रियता
डा. प्रकाशशरण महत, सहमहामन्त्री 

पार्टी सभापतिको देश दौडाहा महाधिवेशनको तयारीका लागि होइन । सरकारको गलत गतिविधि र क्रियाकलापलाई जनताबीच लाने र पार्टी निर्माण गर्न सभापतिको ध्यान केन्द्रित छ । सरकारको पछिल्लो गतिविधि देश र जनताको हितका लागि राम्रा छैनन् । यो कुरा जनतालाई बुझाउनुपर्नेछ । पार्टी बलियो बनाउँदै लगेपछि नेता–कार्यकर्ताले नेतालाई स्विकार्छन् । समय नै नआउँदै पार्टीमा म नै सबैथोक हुँ भनेर प्रचार गर्ने वेला होइन । अब पार्टीको तल्लो तहसम्म प्रशिक्षणसहितका कार्यक्रम तयार हुँदै छ ।
 नेता भएपछि वर्षभरि नै घुम्नुपर्छ
डा. शेखर कोइराला,केन्द्रीय सदस्य

सभापतिसहित सबै नेताले महाधिवेशनको तयारी गर्दै छन् । नेताहरूले यसरी व्यस्त तालिका बनाएर जिल्ला भ्रमणमा जानु राम्रो हो । दलका नेता जिल्ला गएनन्, साथीभाइसँग भेटेनन् भने राजनीति गर्नुको अर्थ हुँदैन । यस्तो जिल्ला भ्रमण त वर्षभरि नै हुनुपथ्र्यो । नेताहरू जिल्ला जाँदा, घुम्दा नेता र कार्यकर्ताबीचको दूरी मेटिन्छ, कार्यकर्ताले नेताहरूबाट धेरै कुरा बुझ्ने अवसर पाउँछन् । सरकारका गलत रबैयालाई जनताको तहमा लान पनि नेताहरू गाउँ जानुपर्छ । अब एक वर्षभन्दा कम कार्यकाल बाँकी छ । अर्को वर्ष नहुने भए पनि अब महाधिवेशनको तयारीमा लाग्ने वेला भयो ।

यी नेता पनि व्यस्त 
माघको अन्तिममा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा भेटघाटको कार्यक्रम गरेर फर्किएका नेता प्रकाशमान सिंहले पूर्वी नेपालका जिल्ला भ्रमण गरेका छन् । १० चैतमा झापा, ११ गते इलाम, १२ गते पाँचथर र १३ चैतमा ताप्लेजुङमा कार्यकर्ता भेट गरी सिंह काठमाडौं फर्किएका छन् । अब प्रदेश नम्बर १ का पहाडी जिल्लाको भ्रमणपछि प्रदेश नम्बर २ का जिल्ला घुम्ने योजनामा सिंह रहेको उनका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारपछि नेता कृष्णप्रसाद सिटौला आराम गरिरहेका छन् । सिटौलाको विभिन्न जिल्लामा कार्यक्रम तय भए पनि हाललाई स्थगित भएको छ । १७ चैतदेखि कर्णाली प्रदेशका जिल्ला घुम्ने उनको कार्यक्रम स्थगित भएको जानकारी उनका सहयोगी किरण सिटौलाले दिए । बढी घुम्ने नेताहरूमा डा. शेखर कोइराला पनि छन् । कोइरालाले पूर्वी, मध्य र पश्चिमी जिल्लाको भ्रमण गरी नेता–कार्यकर्तासँग भेटघाट गर्दै आएका छन् । कांग्रेसका नेताहरूमध्ये जिल्ला घुम्नेमा कोइराला अगाडि देखिन्छन् । उनी २० चैतमा धादिङ, २३ गते विराटनगर र २५ गते उदयपुर जाने कार्यक्रम छ ।

नेताहरू को कहाँ पुगे ?
देउवाको तालिका

फागुन २३ : बिहान ११ः१५ बजे काठमाडौंबाट विराटनगर, वीरेन्द्र सभागृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन । मोरङ कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल ।
फागुन २४ : दिउँसो सवा २ बजे पोखरा ।
फागुन २५ : बिहान ९ बजे हेलिकोप्टरमा म्याग्दीको सिंहा तातोपानी पुगे । तातोपानीबाट सडकमार्ग हुँदै बेनी बजार आएपछि कांग्रेस म्याग्दीको भवन उद्घाटन ।
फागुन २६ : बिहान ९ बजे बेनीबाट पर्वतको जलजला गाउँपालिकाको मिलनचोकमा गाउँ कार्यसमितिको भवनको शिलान्यास । दिउँसो बागलुङ बजारमा कार्यकर्ता भेलालाई सम्बोधन  ।
फागुन २७ : बिहान ९ बजे बाग्लुङ सदरमुकामबाट पर्वतको प्रस्थान गरी जिल्ला सम्मेलनलाई सम्बोधन । कार्यक्रमपछि सडकमार्ग हुँदै पोखरामा रात्रि वास ।
चैत ७ :भक्तपुरमा पार्टी जिल्ला भेलाको उद्घाटन ।
चैत १६ : गुल्मीमा पार्टी जिल्ला सम्मेलनको कार्यक्रम  ।

 पश्चिम नेपालमा
सभापतिसँगै पौडेलको कार्यक्रम 

फागुन २५ : बिहान पोखरा हुँदै म्याग्दी प्रस्थान, म्याग्दीमा कांग्रेस कार्यालय भवनको उद्घाटन कार्यक्रम सभालाई सम्बोधन ।
फागुन २६ : बेनीबाट पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान । कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास कार्यक्रममा सहभागी ।
फागुन २७ : कांग्रेस परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन ।
फागुन २८ : अर्घाखाँचीको शीतगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखी क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन । दिउँसो ३ बजे सन्धिखर्क नगरपालिका–६ नरपानीमा बिपीपार्क शिलान्यास र वडा कार्यालय भवन शिलान्यास । साँझ ६ बजे सन्धिखर्कमा पत्रकार सम्मेलन ।
फागुन २९ : बिहान ८ बजे महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन । साढे १२ बजे छत्रदेव गाउँपालिका–४ मा सहिद राममणि ज्ञवाली, सहिद शिवलाल पोखरेल, सहिद पदमलोचन श्रेष्ठको सालिक अनावरण । सहिद राशिप स्मृति भवन उद्घाटन । १ बजे आमसभालाई सम्बोधन ।
फागुन ३० : नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन ।
चैत १ :कपिलवस्तुका विभिन्न स्थानहरूमा कार्यकर्ता भेलालाई सम्बोधन ।

 पौडेलको पूर्वी नेपालको कार्यक्रम
चैत ८ : काठमाडौंबाट सिन्धुली, नेपाल शिक्षक संघ, सिन्धुलीका जिल्ला प्रतिनिधिहरूलाई सम्बोधन ।
चैत ९ : बिहान सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोट आमसभालाई सम्बोधन ।
चैत १० : कांग्रेस सर्लाहीको आयोजनामा मलंगगवामा भएको आमसभालाई सम्बोधन ।
चैत ११ : बिहान सर्लाहीमा कार्यकर्ता भेटघाट, दिउँसो महोत्तरीको कार्यकर्ता भेलालाई सम्बोधन ।
चैत १२ : महोत्तरीमा कार्यकर्ता भेटघाट र कार्यक्रमलाई सम्बोधन ।
चैत १३ : कांग्रेस धनुषाको आयोजनामा सहिदनगर नगरपालिको यदुकुवामा हुने आमसभालाई सम्बोधन र सहिद रामसेवक यादवको सालिक अनावरण ।
चैत १६ : गुल्मी जिल्ला सम्मेलन ।

 महामन्त्री शशांकको कार्यक्रम
चैत ७ : चितवनमा जिपी प्रतिष्ठान कार्यक्रम ।
चैत ८ : नवलपरासीको मध्यबिन्दु नगरपालिका नवजागरण कलेजको वार्षिकोत्सव ।
चैत ९ : काठमाडौं स्वास्थ्य दर्पण पत्रिकाको सातौँ वार्षिकोत्सव ।
चैत १० : बर्दियामा कार्यकर्ता भेला र पार्टी कार्यालय उद्घाटन ।
चैत ११ : नेपालगन्ज पार्टी कार्यालय भवनको माथिल्लो तलाको उद्घाटन र कार्यकर्ता भेटघाट ।
चैत १२ : दाङ जिल्ला पार्टी कार्यालयमा भेटघाट ।
चैत १३ : बढवा गाउँपालिकामा कार्यकर्ता भेटघाट ।
चैत १६ : गुुल्मीको पार्टी जिल्ला सम्मेलनमा सहभागी हुने ।
चैत १८ : पाल्पा र स्याङ्जामा कार्यकर्ता भेटघाट गर्ने ।
चैत १९ : पर्वत गाउँपालिका भेलामा सहभागी हुने ।