Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

राष्ट्रिय फुटबल प्रतियोगिता : उपाधिमा दुवै टोलीको दाबी

 

१५ चैत, हेटौँडा। हेटौँडा  दोस्रो संस्करणको भूगर्भ सिमेन्ट स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि क्यामरुनी क्लब दाफिन्स र आयोजकको मकवानपुर–११ शनिबार भिड्दैछन्। फाइनलअघि दुवै टोलीले उपाधिमा आ-आफ्नो दावी गरेका छन्। फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको प्रतिक्रिया दिएका हुन्। दाफिन्स क्लब मोफासलमा जारी विभिन्न चारवटा राष्ट्रिय प्रतियोगिताको उपाधि जितिसकेको टोली हो भने आयोजकको मकवानपुर–११ उदियमान नेपाली फुटबलर र विदेशी खेलाडीको समीश्रणमा तयार भएको टोली हो। फाइनलको यात्रा तय गर्ने क्रममा दाफिन्सले सशस्त्र प्रहरीको एपिएफ र थ्रीस्टार क्लबको चुनौती पन्छाएको थियो। आयोजक मकवानपुर–११ ले मच्छिन्द्र र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। तथ्यांकमा विश्लेषण गर्ने हो भने प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने क्रममा दाफिन्सले दुई गोल गरेको छ भने एक गोल पनि खाएको छैन। आयोजक मकवानपुर–११ ले तीन गोल गर्दै एक गोल खाएको छ। प्रतियोगिताको हालसम्म प्रदर्शनका आधारमा दुवै गोल यानिक ओआनाले गरेका हुन् भने आयोजकको तर्फबाट विदेशी खेलाडी काजिमले दुई र रेजिन सुव्बाले एक गोल गरेका छन्। शारीरिकरूपमा बलियो देखिएको दाफिन्स प्राविधिकरूपमा ज्यादै कमजोर प्रतियोगिता प्रदर्शन गरिरहेको छ। आयोजक मकवानपुर भने घरेलु दर्शकको समर्थकमा पहिलो खेलको तुलनामा दोस्रो खेलमै सुधारिएको प्रदर्शन गर्दै उपाधिमा नाम लेखाउने दाउमा रहेको छ। हालसम्म दाफिन्सलाई नेपाली आर्मीले मात्र निर्धारित समयमा हराउन सकेको छ। मकवानपुरको मिडफिल्ड र फरवार्ड लाइन केही मजबुत देखिन्छ भने दाफिन्सको मिडफिल्ड र गोलरक्षक सक्षम छन्। प्रतियोगिताको उपाधि जित्नेमा आफूहरू ढुक्क रहेको मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दावी गरेका छन्। ‘हामी घरेलु मैदानमा दर्शकको पूर्ण समर्थनमा खेल खेलिरहेका छौँ। यस्तो अवस्थामा हामी उपाधि जितेर घरेलु दर्शकलाई उपहार दिन चाहान्छौँ। खेल प्रतिस्पर्धात्मक हुने अनुमान हामीले गरेको शारीरिकरूपमा दाफिन्स बलियो भए पनि हामी च्याम्पियन बन्नका लागि सोही अनुसारको रणनीति तयार गर्नेछौँ’, उनले भने। मकवानपुरका कप्तान अशोक बरालले बलियो भएर मात्र प्रतियोगिताको उपाधि नजितिने दावी गर्दै आफूहरू प्राविधिकरूपमा सक्षम रहेको र त्यसकारण उपाधि जित्ने दावी गरे। ‘फाइनल खेल हो दुवै टोली जित्नका लागि खेल्नेछन्। तर, हामीसँग असाध्यै मेहेनत गर्ने जुनियर खेलाडीहरू रहेका छन्। जसले गर्दा हामी उपाधि जित्नेछौं’, बरालले भने। दाफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताए। ‘हामी उपाधि जित्न सक्षम छौँ। तर, खेलाडीको प्रदर्शनबाट सन्तुष्टि छैन। पछिल्लो समय हाम्रा खेलाडीहरूले असाध्यै कमजोर प्रदर्शन गरिरहेका छन्। हामी नेपाल आउँदा जस्तो थियौँ। अहिले त्यस्तो छैनौं। खेलाडीहरूले आफ्नो खेलमा मात्र ध्यान दिँदा हामी समस्यामा परिरहेका छौँ। मैले बुझ्नै सकिरहेको छैन खेलाडीलाई के भइरहेको छ भनेर,’ व्यवस्थापक थापाले गुनासो गरे। दाफिन्सका कप्तान जो एंगोलाले फाइनल खेललाई आफूहरूले फाइनलकै रूपमा लिएर खेल्ने बताए। उनले दुवै टोली च्याम्पियन बन्नका लागि मैदानमा उत्रिने भएकाले आफूहरू सोहीअनुसार तयारी गर्ने बताए। प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद आठ लाख रुपैयाँ र उपविजेताले नगद चार लाख रूपैयाँ प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा करिब ११ वर्षपछि आयोजित प्रतियोगिताको उपाधि कस्ले जित्छ भन्ने जिज्ञास मेटाउनका लागि रेफ्रिको अन्तिम सिटी कुर्नुको विकल्प छैन। प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो। प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो।

थाहा खबर बाट