Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

स्वास्थ्य बीमा : ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको सुविधा

 

 

१४ चैत, काठमाडौं। स्वास्थ्य  बीमा नियमावली २०७५ ले ज्येष्ठ नागरिकलाई उपचार सुविधाको व्यवस्था गरेको छ । नियमावलीअनुसार ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्म निःशुल्क सुविधा पाउँछन् । चैत ४ गतेको मन्त्रीपरिषद् बैठकले ७० वर्ष उमेरमाथिका नागरिकको स्वास्थ्य बीमाको सबै जिम्मा लिनेगरी नियमावली स्वीकृत गरेको हो ।

यसअघिको व्यवस्थामा ज्येष्ठ नागरिकको उपचार सुविधाबारे कुनै उल्लेख थिएन । अहिले ज्येष्ठ नागरिकलाई छुट्टै इकाइका रुपमा समावेश गरिएको छ । बीमा रकम समेत सरकारले ब्यहोर्ने गरी ज्येष्ठ नागरिकलाई परिवारका अरु सदस्यको अतिरिक्त एक लाख रुपैयाँको सुविधा प्रदान गर्ने भएको छ । यो नियमावलीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताउनुभयो ।

यस्तो छ नयाँ व्यवस्था

सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने परिवारले दुई जना ज्येष्ठ नागरिक सहित ५ जनाको छ भने तीन लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछ । नयाँ व्यवस्थाअनुसार एउटा परिवारमा ५ जनासम्मको ३ हजार ५ सय र त्यो भन्दा बढी सदस्य भए हरेक सदस्य बापत थप ७ सय रुपैयाँ तिर्नुपर्छ ।

यसअघि ५ जनासम्मका लागि २ हजार ५ र थप सदस्यका लागि ४ सय २५ रुपैयाँ अतिरिक्त बीमा शुल्क तिर्नुपर्थ्याे । यसअघि स्वास्थ्य बीमा अन्तर्गत ५० हजार रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था गरिएको थियो । तर अहिले दोब्बर गरिएको छ । परिवारको एक जनाले बर्सेनि १० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने गरेकामा अब यो रकम २० हजार रुपैयाँ भएको छ ।

नयाँ व्यवस्थामा सिङ्गो परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ तर ज्येष्ठ नागरिकका लागि बीमा शुल्क लाग्ने छैन । बोर्डका कार्यकारी निर्देशक पोखरेलकाअनुसार परिवारका ५ जनासम्म सदस्यले ३ हजार ५ सय रुपैयाँ तिरे पुग्छ, तर ६ जना सदस्य भए ३ हजार ५ सयमा थप एक जनाको ७ सय रुपैयाँ जोड्नुपर्छ ।

परिवारमा दुई जना ज्येष्ठ नागरिक भए पनि बीमा शुल्क लाग्ने छैन । यसरी सिङ्गो एक परिवारले परिवारका सदस्यका लागि १ लाख रुपैयाँसम्मको र दुई जना ज्येष्ठ नागरिकको थप एक/एक लाख गरी दुई सहित जम्मा तीन लाख रुपैयाँको उपचार सुविधा पाउनेछ । यो एउटा घरको परिवार सदस्यले पाउने वार्षिक उपचार सुविधा हो ।

सुविधा प्याकेज

पहिलो प्याकेज ३ हजार ५ सय रुपैयाँ तिरेपछि १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ । यो सबैले उपयोग गर्न पाउने प्याकेज हो । दोस्रो ज्येष्ठ नागरिकको प्याकेट जस्तै ७० वर्षमाथिका बा, आमा दुई जना भए दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाइन्छ । यसका लागि बीमा समेत तिर्नु पदैन । ज्येष्ठ नागरिकको हकमा थप रकम ७ सय पनि जोडिंदैन ।

उनीहरुको सरकारले नै बीमा रकम तिरिदिने बोर्डका कार्यकारी निर्देशक पोखरेलले बताउनुभयो । तेस्रो प्याकेजमा ज्येष्ठ नागरिकको उपचार सुविधा लिइसकेपछि पनि परिवारका सदस्यले पाउने एक लाख रुपैयाँसम्मको सुविधाबाट समेत आवश्यक परे उपचार सुविधा लिन सकिन्छ ।

बीमा कार्यक्रममा कसरी सहभागी हुने ?

अहिले स्वास्थ्य बीमा कार्यक्रम ४२ जिल्लामा छ । ती जिल्लाका स्थानीयत तहका वडासम्म नै दर्ता सहयोगी परिचालन भएका छन् । उनीहरु घरदैलोमै पुगेका हुन्छन् । सदस्यता दर्ता गर्न फोटो भएको परिचयपत्र दर्ता सहयोगीलाई देखाउनुपर्छ ।

नाबालिगको लागि जन्म प्रमाणपत्र वा अभिभावकको परिचय खुल्ने कागजपत्र भए पुग्छ । ज्येष्ठ नागरिक भएको खण्डमा पनि यथार्थ जानकारी दिनुपर्छ ।सरकारले उपलब्ध गराएको गरिबी परिचयपत्रको आधारमा अति गरिबलाई बीमा रकममा छुटको व्यवस्था छ ।

बीमा पछि पाइने उपचार सुविधा

सरकारबाट निःशुल्क उपलब्ध हुने स्वास्थ्य सेवा यथावत रहन्छन् । त्यसबाहेक बीमा गर्ने व्यक्तिले तोकिएको अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रिया लगायतका सेवा प्राप्त गर्न सक्छ । तर तोकिएको मूल्यभन्दा बढी रकम लाग्ने चस्मा, श्रवणयन्त्र जस्ता सामग्री पाइँदैन ।

त्यस्तै प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधान लगाएतका सेवामा उपचार सुविधाको व्यवस्था छैन । व्यक्तिगत झगडाका कारण चोटपटक लागेमा, लागूपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा पनि यो सेवा पाइँदैन ।

बिरामी परे कसरी सेवा लिने ?

बीमा गरेपछि प्राप्त कार्ड कार्यान्वयन हुन कम्तिमा दुई महिना लाग्छ । जस्तै, चैतमा बीमा गरेको खण्डमा जेठ १ गतेदेखि सेवा लिन सकिन्छ । दर्ता गर्दा सेवा लिने स्वास्थ्य संस्था रोजेको भए उपचारका लागि पनि त्यहीँ पुग्नुपर्छ । सकेसम्म सरकारी अस्पताल नै पहिलो रोजाई हुनुपर्ने निर्देशक पोखरेलले बताउनुभयो । यदि पहिलो रोजाईको अस्पतालबाट सेवा प्राप्त भएन भने अन्त पनि जान सकिन्छ । त्यसका लागि सिफारिस पत्र भने चाहिन्छ ।

नवीकरणको व्यवस्था

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भइरहन हरेक वर्ष नवीकरण गर्नुपर्छ । बीमा नवीकरण गर्दा सकेसम्म म्याद सकिनु एक महिना अगाडि नै दर्ता सहयोगीसँग सम्पर्क गर्नुपर्छ ।

उज्यालो बाट