Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईले गरे पदभार ग्रहण

चैत १२, काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि केही समय रिक्त रहेको पदमा मन्त्रिपरिषद् बैठकले गत बिहीबार फिल्म अभिनेता तथा निर्माता भट्टराईलाई नियुक्त गरेको थियो ।

झन्डै साढे तीन दशकदेखि फिल्म अभिनय तथा निर्माणमा सक्रिय भट्टराईको स्वागतमा बोर्डले सोमबार एक कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टराईले आफू सधैँ नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे । ‘विगतमा के–के भए, अब त्यस्तो हुुुनेछैन,’ उनले भने, ‘म चलचित्र क्षेत्रको विकासमा लागिपर्नेछु । मप्रति सम्पूर्ण चलचित्रकर्मीले ठूलो आशा र भरोसा राख्नुभएको छ । म कुनै पनि हालतमा त्यो भरोसा तोड्नेछैन ।’

उनले आफूले राष्ट्रिय चलचित्र नीति र बक्स अफिस प्रणालीको पूर्ण कार्वान्वयनलगायतका विविध कार्यलाई प्राथमिकतामा राखेको बताए । ‘मैले धेरै काम गर्नु छ, मसँग थुप्रै कार्ययोजना छन्,’ उनले भने, ‘म काम गर्न आएको हुँ, नेपाली चलचित्रको हितका खातिर जस्तोसुकै परिस्थितिसँग जुध्न पनि तयार छु ।’ उनले फिल्मसँग सम्बन्धित सबै संघसंस्थासँग समन्वय गरी अघि बढ्ने बताए । नवनियुक्त अध्यक्ष भट्टराईलाई चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतका चलचित्रकर्मीले उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।