Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

नेपालले आज कुवेतसँग खेल्दै

७ चैत, काठमाडौं । झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ ।

कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको औपचारिक यात्रा सुरु गर्ने कालिनले कुवेत टिम राम्रो रहेको भए पनि आफू टिमका बारेमा पूर्ण रुपमा जानकार नभएको बताए । उनले नेपाली टिममा यसपटक युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टिममा परीक्षणकालमा जस्तै रहेको बताए ।

उनले राष्ट्रिय टिमका मुख्य ६ खेलाडी यू २३ प्रतियोगिताका लागि कतारमा गएकाले पनि टिमलाई दबाब हुने उनले बताए । तर पनि आफ्नो टिमले राम्रो खेलेर कुवेतलाई चुनौती दिने उनले बताए ।

नेपाल र कुवेत १९ वर्षपछि खेल्न लागेका हुन् । यसअघि सन् २००० मा भएको एएफसी एशिया कपका दौरान नेपालले कुवेतसँग खेल्दा पाँच शून्यले हार ब्यहोरेको थियो । तर त्यसपछि कुवेतको टिममा निकै हेरफेर भइसकेको छ ।

कुवेत फुटबल संघ तीन पटक फिफाको निलम्बनमा परिसकेको छ भने टिममा युवा भन्दा पनि अनुवभी र नेपाल भन्दा तलुनात्मक रुपमा पाका खेलाडीको बाहुल्यता धेरै रहेको छ । त्यसैले पनि नेपाली टिमका कप्तान विराट महर्जन पनि टिमलाई जित्नेमा विश्वस्त रहेको बताउँछन् ।

यता कुवेतका प्रशिक्षकले टिमले पछिल्लो ६ महिनादेखि प्रशिक्षणमा रहेको बताए पनि औपचारिक खेल खेल्न नपाएको बताएका छन् । कुवेतका खेलाडीमा फुटबल प्रतिको सम्मान भएकाले नै टिम राम्रो भएको उनले बताए । विश्वकप खेलिसकेको र एशिया कप जितीसकेको कुवेत फिफा बरीयतामा नेपाल भन्दा केही माथि नै रहेको छ । त्यसैले नेपालका लागि युवा खेलाडीको परीक्षणका रुपमा पनि लिइएको छ ।

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो गोल गरेको पनि कुवेतविरुद्ध नै हो । सन् १९८२ मा वाइबी घलेले कुवेतविरुद्धको गोल नै नेपालको पहिलो गोल हो । त्यसपछि नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन ।