Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

गुगलले चिनियाँ सेनालाई सहयोग गरेको ट्रम्पको आरोप

६ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न ठूला प्रविधि कम्पनीहरुमाथि कडा व्यवहार देखाउने गरेका छन् । केही महिनाअघि ट्रम्पले एप्पल कम्पनीका बारेमा टिप्पणी गर्दै एप्पलले चीनमा आफ्ना प्रडक्टहरु उत्पादन गर्ने काम बन्द गर्नुपर्ने बताएका थिए । अहिलेचाहिँ ट्रम्पले अर्को दिग्गज कम्पनी गुगलका बारेमा कडा टिप्पणी गरेका छन् । गुगलले चीन र चीनको सेनालाई सहयोग गरेको आरोप उनको छ । अमेरिकाको सेना प्रमुखले गुगलको आलोचना गरेको केही समयपछि नै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । गुगलले चीनमा गरिरहेको गतिविधिले अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सहयोग पुगिरहेको सेना प्रमुखले हालै बताएका थिए ।तर गुगलले आरोपको खण्डन गरेको छ । गुगलको चीनमा रहेको संलग्नताको विषय पछिल्लो समयमा बहसको विषय बनिरहेको छ । गुगलले चिनियाँ सरकारको नियमानुसार चीनका लागि लक्षित गरी सर्च इन्जिनको विकास गर्ने प्रक्रियामा रहेको समाचार पनि आएको थियो । तर गुगलका सीईओ सुन्दर पिचाइले यस्तो योजना नभएको प्रष्टीकरण दिएका थिए । पछिल्ला केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको छ । यसले अमेरिका र चीन दुवै देशका प्रविधि कम्पनीहरुलाई नकारात्मक असर परिरहेको छ । अमेरिकाले चिनियाँ ब्राण्ड हुवावेका उत्पादनहरु माथि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उता चीनमा एप्पललगायतका अमेरिकी कम्पनीको बिक्रीमा तीव्र गिरावट भइरहेको छ ।

error: Content is protected !!