Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

महिला साफ फुटबलका बेला अस्तव्यस्त विराटनगर

विराटनगर । पाँचौं महिला साफ च्याम्पियनसीप खेल्न विराटनगर आएको भुटान महिला फुटबल टोलीका प्रशिक्षक सुङ जीलीले आफ्नो पहिलो खेलपछि नै व्यवस्थापनप्रति पश्न उठाए ।

फागुन २८ गतेको खेलमा नेपालसँग पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भद्रगोल व्यवस्थापनका कारण आफ्ना खेलाडीले प्रदर्शन गर्न नसकेको दावी गरे ।

उनले भनेका थिए, ‘होटलका लागि ९ बजेदेखि २ बजेसम्म गाडीमा घुमिरह्यौं, खेलाडीले अभ्यास गर्ने समय पाएनन् । यति ठूलो प्रतियोगिताको म्यानेजमेन्ट गतिलो भएन ।’

हुन पनि बिराटनगरमा आयोजित साफ च्याम्पियनसीप भद्रगोल व्यवस्थापनमै चलिरहेको छ । यतिबेला निर्माणधिन अवस्थामा रहेको विराटनगरको बजार क्षेत्रका सबै सडकहरु खनिएका छन् ।

 

साफ च्याम्पियनसिप अगावै सक्ने लक्ष्यसहित महानगरपालिकाले दुई महिनाअघि मुख्य बजारको सडकमा ढल बिछ्याउने काम सुरु गरेको थियो । तर साफ च्याम्पियनसीपको समूह चरणको खेल सकिदासम्म पनि ढल बिछ्याउने काम सकिएको छैन ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मेनरोडसहितका सडक अन्धाधुन्द खनिँदा बजार क्षेत्र लठिभद्र देखिएको छ । सवारी र सर्वसाधरणको सँधै चाप हुने बजार क्षेत्रमा बिकल्प नराखी सडक खनिँदा सर्बसाधारणले सास्ती पाएका छन् ।

बिराटनगरको उत्तर–दक्षिण सडकको तिनपैनी चोकदेखि ट्राफिक चोकसम्मको खण्डलाई मुख्य बजार भनिन्छ । अधिकांश पसल तिनपैनी ट्राफिक चोक खण्डमा छन् । करिब दुई किलोमिटरको बजार क्षेत्रलाई जोड्ने पूर्वतर्फ ८ वटा र पश्चिमतर्फ ९ वटा सडकहरु छन् ।

बजार जोड्ने सडकको काम नसकि महानगरले मुख्य सडक खनेपछि सर्वसाधारणलाई अस्पतालसम्म पुग्न गाह्रो भएको पब्लिक फोरम विराटनगरका संयोजक उत्तम ढुंगेल बताउँछन् ।

 

‘बजारको अवस्था भद्रगोल छ,’ ढुंगेल भन्छन्, ‘पैदल हिडन सक्ने अवस्था पनि छैन ।’ कछुवाको गतिमा काम हुँदा सर्बसाधारणले सास्ती ब्योहोर्नुपर्ने दिन लम्बिएको उनको गुनासो छ ।

‘बजारमा सटर भाडा ५० हजारदेखि माथि तिर्नुपर्छ । तर बाटो बन्दैन,’ उनले भने ‘सुस्त काममा गुणस्तर पनि छैन ।’ विराटनगर रानी–धरान ६ लेन सडकको काम पनि निर्माणधिन अवस्थामा छ । महानगरका सबै मुख्य सडक भत्काएकाले ट्राफिम जाम बढेको छ ।

मेयर भन्छन् ‘नभत्काई विकल्प छैन’

विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ । एक बर्षअघि सुरु भएको परियोजनाको काम चाँडो सक्न बजार क्षेत्रमा एकैपटक ढल बिछ्याउने काम सुरु गरेको मेयर भीम पराजुली बताउँछन् ।

‘असारसम्म ढल बिछ्याउने काम सकिएन भने परियोजनाको काम समयमा सकिदैन,’ उनी भन्छन्, ‘पाइप बिछ्याएपछि पिचको काम गर्छाै ।’

मेयर पराजुली साफका लागि तय भएको रुटको भने काम सम्पन्न गरेको बताउँछन् । तर साफका लागि प्रयोग भएको डिएसपी रोडदेखि पण्डित मेघराज मार्गसम्मको मेनरोड कालोपत्रे भएको छैन । यस्तै, साफका लागि प्रयोग भएको पण्डित मेघराज मार्ग पनि अधुरै छ ।

विराटनगर निर्माणधिन अवस्थामा रहेको खबर फुटबलको सर्बाेच्च निकाय फिफालाई पनि जानकारी भएको दावी गर्दै मेयर पराजुली सडकले प्रतियोगितालाई नकारात्मक असर नगरेको बताउँछन् ।

‘२६ दिनमा मैदानसम्म पुग्ने सडकको निर्माण गर्नु उदारणीय काम हो,’ उनले भने ‘खेलाडीले प्रयोग गर्ने रुट क्लियर छ ।’ साफले विराटनगरको छवि उच्च बनाएको बताउँदै उनले निर्माणधिन अवस्थामै प्रतियोगिता आयोजना गर्नु ठूलो उपलब्धी भएको उल्लेख गरे ।

Source: Online Khabar