Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

फिल्मीकर्मीको भविष्य बताउने हरिहर ‘शुभ लभ’बाट आफ्नै भविष्य खोज्दै

यूवा उमेरमै डिजिटल माध्यमबाट धेरैको चिना हेरेर हरिहर अधिकारीले भविष्य बताए, वर्तमान केलाए र भूतकाल ठम्याए । यसैले त उनले कम उमेरमै विश्वमा आफ्नो नाम ज्योतिष क्षेत्रमा चिनाएका छन् । हरिहरको अफिसमा चलचित्रको कथा लेख्न थालेदेखि रिलिजसम्म चलचित्रकर्मी पुग्छन् । उनले नै भनेर धेरै कलाकारको हातमा विभिन्न खालका औठीले भरिएका छन् । अझ भनौ, हरिहर चलचित्रकर्मीका लागि आशाको केन्द्रमा छन् ।

अब, उनै हरिहर आफ्नो भविष्यको फैसला गर्ने कुर्सीमा बसेका छन् । अझ भनौ, धेरै चलचित्रकर्मीको चलचित्र हिट वा फ्लपदेखि नाम के राख्नेसम्मको साइत र अक्षर जुराइदिने हरिहरले यसपटक आफ्नै लागि एउटा नाम जुराएका छन्, ‘शुभ लभ’ ।

चैत्रको १५ गतेदेखि रिलिज हुन लागेको यो चलचित्र हरिहरका लागि विशेष छ । किनकी, धेरैले पत्याएका उनलाई आफू सफल हुन आवश्यक छ । आफू सफल हुँदा उनको ज्योषित शास्त्रमा विश्वास गर्ने पनि बढ्छन् होला, नत्र विश्वास गरेकाहरुको आशा कमजोर हुन्छ । किनकी, अरुको चलचित्रको हरेक कुरा भनिदिने हरिहरले पक्कै पनि कमजोर नाम र कथा रोजेनन् होला ।

सन्तोष बाबु लोहनीको निर्देशनमा बनेको यो चलचित्रबाट नै हरिहरले नायकको रुपमा चलचित्रमा डेब्यु गर्न लागेका हुन् । हरिहरसँगै यस चलचित्रबाट कृष्टिन पौडेलले पनि चलचित्र क्षेत्रमा पाइला टेकेकी छिन् । श्री प्रदिपकुमार उदयको प्रस्तुतीमा तयार भएको चलचित्रमा धर्मराज सुवेदीको लगानी छ ।

पत्रकारसँग रमाइलो गर्दै हरिहरले भने–‘चलचित्रको विषयबस्तु नै ज्योतिषसँग सम्बन्धित छ । यस्तो विषयमा अहिलेसम्म चलचित्र बनेको मलाई थाहा छैन । यसैले पनि चलचित्रलाई लिएर म उत्साहित छु ।’ जो सुकै कलाकारलाई पनि आफ्नो चलचित्र रिलिजको समयमा डर वा उत्साह हुनु स्वभाविक नै हो । यसै चलचित्रबाट डेब्यु गरेकी कृष्टिन पनि चलचित्रलाई लिएर निकै आशावादी छिन् । ‘चलचित्रमा हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौँ । सायद यसलाई दर्शकले स्विकार्नुहुन्छ होला ।’ कृष्टिन सुनिइन् । यो चलचित्रको कथा पनि हरिहर अधिकारीकै हो । उनी भन्छन्–‘मैले चिना वा हात हेर्दा धेरै जनाको धेरै कथाहरु सुनेको थिएँ । हरेक मान्छेसँग फरक फरक कथा भेट्थेँ । त्यही समय नै मलाई यस्तो विषयमा चलचित्र बन्यो भने कस्तो होला भन्ने मनमा थियो ।’

निर्देशक सन्तोष बाबु लोहनी पनि चलचित्रको विषयबस्तु विल्कुलै फरक भएको दावी गर्छन् । ‘मैले धेरै चलचित्रहरु हेरेको हुन्छु । तर, यस्तो कथाबस्तु कुनै चलचित्रमा देखेको छैन’, उनले भने, ‘कथाबस्तु एकदमै मन परेपछि चलचित्र निर्माणको आँट गरे ।’

यो चलचित्रको व्यापारले आफ्नो ज्योतिष करिअरमा कुनै असर नगर्ने समेत हरिहरले बताए । ‘मैले लगभग ६ महिना अफिस बन्द गर्नुपर्यो । चिना तथा हात हेर्ने काम पूर्ण रुपमा नै रोके’, हरिहर भन्छन्, ‘अब भने मैले पुनः काम सुरु गरेको छु । यो चलचित्र ज्योतिषकै कथामा भएका कारण मेरो प्रोफेसनमा कुनै असर पर्दैन ।’

ज्योतिष क्षेत्रमा चिनिएको नाम हरिहरले सुटिङको दैरानमा भने आफूलाई ज्योतिष हुँ भन्ने नै विर्सिएका थिए । उनी भन्छन्, ‘सुटिङ सेटमा मैले कहिल्यै आफूलाई ज्योतिष हुँ भन्ने फिल गरिन् । म त्यहाँ पूर्ण रुपमा स्ट्रगल गर्न गएको नयाँ कलाकार भएको थिए ।’

के अब चलचित्रमा काम गरिरहनु हुन्छ वा ज्योतिष काममा नै फर्किनुहुन्छ ? पत्रकारको यो प्रश्नमा उनले भने, ‘म खास चलचित्र खेल्छु भनेर आएको होइन । राम्रो अफर आयो भने सोच्नुपर्ला । तर, ज्योतिषी पेशा त छाड्ने कुरा नै आउँदैन नी ।’

नायिका कृष्टिन भने निरन्तर चलचित्र क्षेत्रमा रहेर काम गर्ने मनशायमा छिन् । उनले भनिन्, ‘यही क्षेत्रमा बसेर केही गर्छु भन्ने सोच बोकेर आएको छु । निरन्तर रुपमा नै काम गरिरहने छु ।’ चलचित्रको व्यापारले तपाईको करिअरमा फरक पार्छ कि पर्दैन ?’ हरिहर माथि अर्को प्रश्न तेर्सियो । उनले सजिलै ‘पर्दैन’ भन्ने उत्तर दिए । हरिहरको कुरालाई विश्लेषण गर्दै चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदयले भने, ‘कलाकार र व्यापार भन्ने चिजमा कुनै कनेक्सन हुँुदैन । कलाकारको काम अभिनय गर्ने हो । राम्रो काम गरे भने उनीहरु सफल हुन् ।’

‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै राजाराम पौडेल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र पोखरेल लगयायतको मुख्य भूमिका छ । अभिमन्यु निरवीले लेखेको यो चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

Source: Online Khabar