पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् ।
प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् ।
दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।
त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।
सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।
यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् ।
उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।