Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

विप्लवको ‘बन्द’ सँग नडराउन प्रहरीको ढाडस

काठमाडौं । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको घोषणा गरेता पनि सो समूहको त्रास राजधानीमा समेत देखिएको छ । विप्लव माओवादीले नेपाल बन्दको घोषणा गरेको भन्दै अधिकांश निजी विद्यालयहरुले विहीबार विद्यार्थीहरुलाई छुट्टी दिएका छन् । राजधानीबाट बाहिरी जिल्लामा चल्ने अधिकांश रात्रिकालीन बसले बुधबार टिकट काट्न मानेनन् ।

प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले फागुन ३० गते नेपाल बन्दको घोषणा गरिरहँदा नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ ।

बन्दको प्रतिवादका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्दै आवश्यकता अनुसार स्कर्टिङ गरेर भए पनि सार्वजनिक सवारी साधन चल्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘हाइवे र मुख्य सडकहरुमा आवश्यकता अनुसार स्कर्टिङको व्यवस्था गरेका छौं ।’

उपत्यका बाहिरका जिल्लाको हकमा पनि माग बमोजिम सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर स्कर्टिङको व्यवस्था मिलाइने उनको भनाइ छ ।

समूहले बन्दको घोषणा गरेसँगै हरेक जिल्लामा सुरक्षा समन्वय समितिले सम्भावित चुनौतिको विश्लेषण गरेर सुरक्षा योजना बनाउने गर्छ । सोही योजनाअनुरुप नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समन्वयात्मक रुपमा परिचालन हुने जनाइएको छ ।

‘भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर साधा पोशाकमा पनि व्यापक प्रहरी परिचालित हुनेछन्’, सुवेदीले भने, ‘समग्रमा हामीले पर्याप्त सुरक्षा व्यवस्था मिलाएका छौं । सर्वसाधारणले ढुक्क भए हुन्छ ।’

प्रहरीले यस्तो दाबी गरिरहँदा काठमाडौंकै कतिपय विद्यालय तथा कलेजहरुले बुधबार नै फागुन ३० गते विदा दिने घोषणा गरिसकेका छन् । लामो दूरीका रात्रिकालीन सवारी साधन बुधबार बेलुकैदेखि चलेका छैनन् ।

‘कतिपय बसले आजै टिकट नकाटेको भन्ने पनि सुनियो । तर, सुरक्षाको दृष्टिले उहाँहरुलाई हामीले कुनै असजिलो महसुस हुन दिँदैनौं’, सुवेदीले थपे, ‘लामो दूरीका गाडी चल्छन् । छोटा दूरीका त झनै निर्वाध रुपमा चल्छन् । सुरक्षा दिन हामी समक्ष छौं ।’

काठमाडाैं प्रहरी प्रमुख भन्छन्– बन्दकर्ता चाहिँ डराउनुपर्छ

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले सर्वसाधारणले डर, त्रासमा बसेर यात्रामा ननिस्किनु पर्ने वा पसल बन्द गर्नुपर्ने आवश्यकता नभएको दाबी गरे । उनले अनलाइनखबरसँग कुरा गर्दै विप्लव समूहका सदस्यहरुले चाहिँ डराउनुपर्ने स्थिति रहेको बताए ।

वसन्त लामा, एसएसपी

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै सार्वजनिक रुपमा गतिविधि गर्न निषेध हुने भएकाले उनले समूहका सदस्यले चाहिँ डराउनुपर्ने स्थिति रहेको बताएका हुन् ।

‘हामी विप्लव समूहका जोकोहीलाई भेट्ने वित्तिकै नियन्त्रणमा लिएर कारबाही गर्छौं । त्यसैले उनीहरुचाहिँ डराउनुपर्छ’, लामाले सर्वसाधारणलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘गाडी, पसल ढुक्कले चलाउनोस् ।’

एसएसपी लामाले विहीबार सामान्य अवस्थामा भन्दा बढी प्रहरी परिचालन गरिने बताउँदै कोही बन्द सफल पारौं भन्दै आएमा सूचना दिनसमेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘यदी त्रासमा पार्ने किसिमले पर्चा, पम्पलेट बोकेर कोही आए भने पनि हामी तत्काल पक्राउ गर्छौं’, लामाले थपे, ‘हामी सर्वसाधारणको सहयोगका लागि तत्पर छौं ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले आफूमाथि दमन गरेको आरोप लगाउँदै विप्लव समूहले एकसाता अघि नै फागुन ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।

यसअघि २३ फागुनमा कपिलवस्तुको शिवराजग–९, सिम्बरीडाँडास्थित विप्लवको गाउँमा प्रहरीले सर्च अपरेशन चलाएको थियो । त्यसक्रममा एकजनालाई खुट्टामा गोली हानेर पक्राउ गरिएको थियो ।

प्रहरीको गोलीबाट घाइते दुर्गाबहादुर रोकाको घरबाट प्रहरीले दुईवटा एसएमजी हतियार, एउटा चाइनिज पेस्तोल र २०२ राउण्ड गोली बरामद गरेको थियो ।

त्यसैगरी १० फागुनमा ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा एकजनाको मृत्यु र दुई जना घाइते हुने गरी शक्तिशाली विष्फोट गराएपछि प्रहरीलाई विप्लव समूहप्रति आक्रामक बन्न निर्देशन दिइएको थियो । त्यसैक्रममा विप्लवको गाउँमा छापा हानिएको थियो ।

गाउँमा छापा हानेको भोलिपल्टै समूहले काठमाडौंको वसुन्धारामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा चारजना घाइते हुने गरी विष्फोट गराएको थियो । घरमा पार्किङ गरेर राखिएको कारबाट विष्फोट सुरु भएको थियो । विस्फोटलगत्तै आगलागी भएको थियो । सो घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।