प्रि–मनसुन सुरू, तीन महिना पहाडी भेगको मौसम प्रभावित हुने
काठमाडौं । यस वर्षको प्रि–मनसुन सुरू भएको छ। मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भूभागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपरान्ह तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन सुरू भएको हो। तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ। प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपरान्ह तथा साँझापख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने मौसमविद् अर्यालले औंल्याए। उनका अनुसार अंग्रेजी महिना मार्चदेखि सुरू हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम प्रभावित भइरहन्छ। वर्षा छोटो समय हुने गर्छ र उपत्यकामै पनि एक ठाउँमा वर्षा हुने र अर्को ठाउँमा नहुने हुन्छ। पहाडी भेगमा प्रि– मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन। सो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ। नयाँ प्रणाली विकास नभइसकेकाले पहाडी भेगबाहेकका अन्य क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
(२२ फाल्गुण २०७५, बुधवार १९.५७ मा प्रकाशित )