Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

विपक्षीलाई पराजित गर्ने भेनेजुएलाका राष्ट्रपति मादुरोको घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विपक्षी नेता जुआन गुआइडो पक्षधरलाई आफूले पराजित गर्ने घोषणा गरेका छन् । गुआइडो स्वदेश फर्केको भोलिपल्ट मंगलबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै मादुरोले आफूले आगामी शनिबार साम्राज्यवाद विरोधी मार्च गर्ने समेत बताएको बीबीसीले उल्लेख गरेको छ । सोही दिन विपक्षी नेता गुआइडोले पनि मादुरोको विरुद्धमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । मंगलबार ट्रेड युनियन नेताहरुलाई सम्बोधन गर्ने क्रममा मादुरोले सो कुरा बताएका हुन् । उनले सो अवसरमा विपक्षीले अमेरिकाको सहयोगमा ‘कु’ गर्ने प्रयास गरेको आरोप समेत लगाए। उनले अल्पसंख्यक समूहले उनीहरुले घृणा र तीतो पोख्ने काम गरेपनि त्यो उनीहरुको समस्या भएको बताउँदै आफूले उनीहरुलाई ध्यान नदिने बताएका छन् । सैनिकहरुको सामु उभिएर उनले आफूहरुले विपक्षी समूहलाई पराजित गर्ने बताएका थिए । भेनेजुएलाका विपक्षी नेता गुआइडो गएको सोमबार मात्रै स्वदेश फर्किएका हुन् । उनी आउनासाथ शनिबार मादुरो विरुद्ध बृहत प्रदर्शन गर्ने घोषणा गरेकोमा मादुरोले पनि सोही दिन प्रदर्शन गर्न लागेका हुन् ।

(२२ फाल्गुण २०७५, बुधवार १६.१४ मा प्रकाशित )