Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

सुदूरपश्चिमबाट विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : अव सरकार चुपलागेर वस्दैन

हापुरे, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए ।

उनले निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए ।

‘क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले केही समयअघि अरूण तेस्रोको कार्यालयमा विप्लवको पार्टीले गरेको आगजनीको उदाहरण दिँदै त्यसले एकातिर भारतसँगको सम्बन्ध बिगार्ने र अर्को्तिर नेपालमा विदेशी लगानी नआवस् भन्ने षडयन्त्र रहेको बताए ।

‘अकारण जनतालाई आतंकित बनाउने र अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश प्रवाह गर्ने, लगानी नआओस् भन्ने कुरा सरकारलाई मान्य हुँदैन,’ प्रधानमन्त्रीले भने,‘यस्ता गतिविधिमा आवश्यक समयमा आवश्यक नियन्त्रण गरिनेछ ।’

विप्लव नेतृत्वको पार्टीले पछिल्लो समय चन्दा उठाउने क्रम तीव्र बनाएको छ भने बेलाबेलामा बन्द आयोजना गरी सवारी साधन र सार्वजनिक सम्पत्तिमा आगजनी पनि गर्दै आएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए ।

‘केहीले हिन्दुत्वको आडमा कोही जन्मजातै शासक हुने व्यवस्थाको सपना देखाइरहेका छन्,’ ओलीले भने, ‘२००७ सालमा भागेर दिल्ली गएका राजालाई डोकोमा बोकेर दुस्ख पाएका जनताले फेरि त्यही गल्ती दोहोर्‍याउँदैनन् । यस्ता प्रतिगमनउन्मुख कुरामा पनि आवश्यक नियन्त्रण हुनेछ ।’

साथै प्रधानमन्त्रीले भने, ‘सुदूर पश्चिम प्रदेशसभाका साथीहरु, तपाईंहरु विकासका नायक र अभियन्ता बन्न सक्नै पर्छ । विविधताले भरिपूर्ण यो प्रदेशमा जडिबुटीदेखि पशु–पंछी पालन र वालिनालीसम्ममा आधुनिकीकरण गर्दै अपूर्व विकासको बाटो खोल्ने धेरै ठूलो संभावना छ ।’