Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अमेरिकामा संकटकाल घोषणा

तुलसीपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा पर्खाल लगाउन राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गरेका छन्।

सीमानामा पर्खाल लगाउन संसदले भने जति रकम नदिएपछि ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

बिहीबार संसदका दुबै सदनबाट पारित भएको सरकारी खर्च विधेयकमा पर्खालका लागि १.३७५ अर्ब डलर मात्र छुट्याइएको छ। त्यो पनि ट्रम्पले भनेजस्तो कंक्रिट पर्खाल लगाउन नभई फलामे अवरोध निर्माणका लागि भनेर विधेयकमै प्रष्ट उल्लेख गरिएको छ। उक्त रकमले टेक्सासस्थित रियो भ्याली क्षेत्रमा ५५ माइलको फलामे अवरोध निर्माण हुनेछ।

शुक्रबार खर्च विधेयकमा हस्ताक्षर गरे लगत्तै ट्रम्पले संकटकाल घोषणासम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उनले संसदले छुट्याएको बजेटसहित कुल आठ अर्ब डलर पर्खालमा खर्चिने लक्ष्यका साथ संकटकाल घोषणा गरेका हुन्। बाँकी ६० करोड डलर ट्रेजरी डिपार्टमेन्ट (अर्थ मन्त्रालय) ड्रग फरफ्युचर फण्डबाट, साढे दुई अर्ब डलर पेन्टागन (रक्षा मन्त्रालय) को ड्रग इन्टरडिक्सन प्रोग्राम र साढे तीन अर्ब डलर पेन्टागनकै मिलिटरी कन्सट्रक्सन बजेटबाट जुटाउने ह्वाइट हाउसको तयारी छ ।

ट्रम्पले संसदसँग पर्खालका लागि ५.७ अर्ब डलर माग गरेका थिए। तर, संसद त्यो रकम दिन तयार नहुँदा डिसेम्बर अन्तिम सातादेखि जनवरी तेस्रो सातासम्म ३५ दिन अमेरिकी सरकार सटडाउन भएको थियो।

संसदमा रहेका डेमोक्र्याटसँग सहमति खोज्न भन्दै तीन साताका लागि अल्पकालीन बजेट व्यवस्था गरी सरकार खुलाइए पनि सहमति जुट्न सकेन। शुक्रबार बजेट विधेयक पारित नभए फेरि सरकार सटडाउन हुन पुग्ने थियो। संसदका दुबै सदनले पर्खालका लागि ट्रम्पको मागभन्दा न्यून रकम विनियोजन गरिएको बजेट विधेयक पारित गरे। बिहीबार अबेरसम्म पनि ट्रम्प विधेयकमा हस्ताक्षर गर्ने नगर्नेबारे प्रष्ट भइनसकेको समाचार आएका थिए। अचानक साँझ उनले विधेयकमा हस्ताक्षर गर्ने र लगत्तै संकटकाल घोषणा गर्ने सूचना ह्वाइट हाउसले सार्वजनिक गर्यो।

ट्रम्पले घोषणा गरेको संकटकालप्रति डेमोक्र्याटहरूले भने तीव्र विरोध जनाएका छन्। यो घोषणा असंवैधानिक रहेको भन्दै ट्रम्पलाई अदालतमा
चुनौती दिने उनीहरूको भनाइ छ। ट्रम्पले २०१६ को राष्ट्रपति निर्वाचनमा सीमाना पर्खाल लगाउने र त्यसको पैसा मेक्सिको तिर्ने नारालाई मूल एजेन्डा बनाएका थिए ।