Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सामानुपातिकमा एमाले पहिलो दल बन्ने निश्चित

काठमाडौं  :  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।

यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।

यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।

समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ । समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।

दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।

दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१।२, दोस्रोमा आदिवासी(जनजातिबाट २८।७, मधेसीबाट १५।३, दलितबाट १३।८, थारुबाट ६।६ र मुस्लिमबाट ४।४ प्रतिशत समावेश गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।

सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४।३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।

निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि ९ कुल उम्मेदवार संख्या अनुसारको हुने० भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।

गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।

त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।