खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको आग्रह
दैलेख : गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला .निर्वाचन कार्यालयले एक सुचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो । उम्मेदवारले निर्वाचन मत परिणाम सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकाले सोहीअनुसार खर्च विवरण बुझाउन आग्रह सुचना जारी गरिएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाले ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिवरण बुझाउने पर्ने कानुनी प्रावधान अनुसारनै विवरण माग गरिएको र तोकिएको समयभित्र नबुझाएमा निर्वाचन आयोगले कानुन अनुसार कार्वाह गर्ने जानकारी दिइन । उनले भनिन् स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारले निर्वाचन आयोगले तोकेको ढाँचामा खर्चको बिलभरपाई पेश गर्नुपर्ने हुन्छ ।
उम्मेदवारले आफू स्वयं उपस्थित भएर अथवा प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन सकिने निर्वाचन कार्यालयले जनाएको छ । दैलेखका ११ स्थानीय तहका १ हजार ७६५ जना उम्मेदवार प्रतिष्पर्धामा थिए । जिल्लाका एक हजार ७६५ उम्मेदवार मध्ये ७ जनाले मात्र खर्चको विवरण पेश गरेको बताइएको छ ।