दलका घोषणा पत्रमा छैन नयाँपन,सबैको मिल्दोजुल्दो
दैलेख : दैलेखमा रहेका ११ स्थानीय तहका उम्मेदवार आ आफ्ना घोषणा पत्र लिएर मत माग्न व्यस्त छन् । आफ्नो घोषण पत्र तथा सङ्कल्प पत्र नयाँपन भन्दा पनि पुरानै खालका योजनाहरू उल्लेख गरेका छन् । नारायण नगरपालिकामा एमालेले सार्वजनिक गरेको घोषणापत्र र नेपाली काँग्रेसले सार्वजनिक सङ्कल्प पत्रमा हुँवहु योजनाहरू रहेको पाइएको छ । स्थानीय तह निर्वाचन २०७९ लाई मध्यनजर गर्दै दैलेखको नारायण नगरपालिकामा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
नगरमा एमालेले मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ता कुमारी थापा खड्कालाई अघि सारेको छ उम्मेदवार द्वय शर्मा र थापाले ४० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्नेदेखि प्रत्येक वडाका २५ जना युवायुवतीलाई रोजगारी दिने उल्लेख छ । घोषणापत्रमार्फत मेयर र उपमेयरमा उम्मेदवारहरूले नारायण नगरपालिका भित्रका उपभोत्ताहरुले तिर्दै आएको खानेपानीको चर्को मूल्यलाई कटौती गरी न्यूनतम शुल्क मिनाहा गर्ने, न्यूनतम भन्दा माथिको शुल्क मात्र तिर्नुपर्ने व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
एक घर एक धाराको व्यवस्थापन गर्दै भूमिहीन रातमाटे दलित बस्ती, नमुना बादी बस्तीलगायत अति विपन्न दलित परिवारको लागि खानेपानीको धारा जडान गर्न लाग्ने महसुल छुट गर्ने र सामग्रीहरू निःशुल्क प्रदान गर्ने घोषणापत्रमा उल्लेख छ । यस्तै, सुत्केरी र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्ति र असहायलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, एकल पुरुषलाई यसै आर्थिक वर्षबाट मासिक भत्ताको सुरुवात गर्ने एमाले नारायण नगरका उम्मेदवारहरूको घोषणापत्रमा उल्लेख छ ।
नगरको बजार क्षेत्रमा मिनी स्टेडियम निर्माण, खेलकुद क्षेत्रको विकास गर्न प्रत्येक वडामा खेलकुद मैदान निर्माण, भारतलगायत वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नगरभित्रै रोजगारी दिन रोजगार बैकको स्थापना गरी प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिने उनीहरूको प्रतिबद्धतामा उल्लेख छ ।
त्यस्तै नेपाली काँग्रेस बाट नगर प्रमुखकी उम्मेदवार निर्मला थापा खड्काले पनि त्यस्तै खालको सङ्कल्प पत्र सार्वजनिक गरेकी छिन ।
उनले शिक्षा स्वास्थ्य,कृषि तथा रोजगार,पुर्वधार विकास,सांस्कृतिक बन तथा पर्यटन क्षेत्रमा विभिन्न योजनाहरू अगाडी बढाएकी छिन । सङ्कल्प पत्रमा शिक्षा तर्फ एक विद्यालय एक उत्कृष्ट विद्यार्थी घोषणा,शिक्षकलाई आवश्यक तालीमको व्यवस्था,प्राविधिक अध्यापन गराइरहेका विद्यालयको स्तर उन्नति,छात्राहरूका लागि छात्रावास निर्माण गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ लक्षित वर्गको निःशुल्क उपचार गर्ने,एम्बुलेन्स सञ्चालन,जिल्ला अस्पताललाई एक सय शैय्याको अस्पतालको रूपमा विकास गर्ने उल्लेख गरिएको छ । पुर्वधार तर्फ एक घर एक धारा , दैलेख बजार देखी शिरस्थान जाने सडक कालोपत्रे,सार्वजनिक शौचालय निर्माण,बजार क्षेत्रमा सौर्य बत्ती जडान नभएका ठाउँमा सौर्य ऊर्जा जोड्ने,शवबहानको व्यवस्था गर्ने,आयोजनाहरूको सार्वजनिक सुनुवाइ गर्ने उल्लेख गरिएको छ । त्यस्तै कृषि,र सास्कृतिक बन तथा पर्यटनका क्षेत्रमा समेत एकै खालका योजनाहरू अगाडी सारेका छन् ।
त्यस्तै गुराँस गाउँपालिका नेपाली काँग्रेस र एमालेले सार्वजनिक गरेका प्रतिबद्धतामा समेत कुनै नयाँपन पाइँदैन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सबै भन्दा नजिकको दूरीमा रहेको गुराँस गाउँपालिकाको एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् । उम्मेदवारहरूले छ वटा सङ्कल्प सहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमाले गुराँसको ६ वटा सङ्कल्प हुन्, ’हामी शासक होइन जनताको सेवक हुनेछौ, हामी सामाजिक जागरण र विकासका अभियन्ता हुने छौँ, हामीले नेतृत्व गरेको गुराँस गाउँपालिका सुशासनको नमुना बन्ने छ, हामीले सदाचारका दृष्टान्त स्थापना गर्ने छौ र सबै प्रकारका आग्रह पूर्वाग्रहबिना कार्यसम्पादन गर्ने छौँ, हामीले कुनै भ्रष्टाचार गर्ने छैनौँ र कर्डाइका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने छौँ र हामी भ्रष्टाचारी व्यभिचारी अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्नेछौँ ।
घोषणापत्रमा गाउँपालिकाको प्रशासनिक भवन अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री निर्माण गर्ने लगायतका सवालहरू समावेश छन् । घोषणापत्रमा एक गाउँ एक उत्पादन, एक सिँचाइ पोखरी र टनेल, एक वडा एक बहुउद्देश्यीय नर्सरी र एक वडा एक कृषि हाटबजार तथा संकलन केन्द्र स्थापनादेखि पालिका स्तरमा कुनै पनि क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिलाई सम्मान तथा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । एमाले गुराँसले वडागत रूपमा गरिने कामको समेत घोषणापत्रमा प्रतिबद्धता जनाएको छ ।
नेपाली काँग्रेसका बाट अध्यक्षका उम्मेदवारले समेत मिल्दोजुल्दो घोषणापत्र सार्वजनिक गरेका छन् । उनले कृषि,पर्बुधार सामाजिक विकास,भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति अगाडी बढाउने उल्लेख गरेका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेका प्रेम बहादुर खड्कालाई हराउँदै विजयी भएका खेमराज ओलीले पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गर्दा समेत कुनै नयाँ योजना राख्न सकेका छैनन ।
उनले आफ्नो कार्यकालमा निर्माण सुरु गरिएका योजनाहरूको सम्पन्न गर्ने,युवाहरूलाई रोजगारी दिने,कृषिमा लाग्न युवाहरूलाई प्रोत्साहन गर्ने,कृषकहरूको तथ्याङ्क संकलन गरी उत्पादनका आधारमा उत्कृष्ट कृषक छनोट गरेर पुरस्कृत गर्ने उल्लेख गरिएको छ ।
माथि उल्लेखित स्थानीय तहका उम्मेदवार मात्र होइन अन्य स्थानीय तहका उम्मेदवारका चुनावी घोषणा पत्र मिल्दोजुल्दो सार्वजनिक गरेका छन् । स्थानीय उम्मेदवारको घोषणा पत्र हेरिरहेका नागरिक समाजले कुनै पनि दल र तीनका उम्मेदवारले नयाँपन भन्दा पनि पुरानै योजनालाई अगाडी सारेका भन्दै नयाँ भिजन कुनै उम्मेदवार बाट नआएको प्रतिक्रिया जनाएका छन् ।