Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

नेपाली मौलिक संस्कृतिमा कुकुर पूजा

– चन्द्र रावत ‘गुराँस’

हाम्रा सस्कृति र संस्कार पनि बडो अचम्मका छन् । हाम्रा पुर्खाले सँगालेर गएका मान्यतालाई जस्ताको तस्तै वर्तमान परिप्रेक्षमा समाल्दै जानु पर्ने एकातर्फ हाम्रो कर्तव्य हुनजान्छ भने अर्को तर्फ विज्ञान प्रविधि र विकसित शिक्षा प्रणालीका कारण तिनै विश्वास र मान्यतालाई रुढीवादी र अन्धविश्वास भन्दै गर्दा पूजामा बिरालो बाँधेजस्तै गरी केही संस्कार र चाडपर्वहरू मान्दै आएको पाइन्छ । बिश्वास र अन्धविश्वासको दोसाँधमा उभिइरहनु भन्दा पनि ती मान्यता र विश्वासलाई बर्तमानको कसीमा सुन घोटेर  टलक्क टल्काए झै  सुन र पितल छुट्याउन जरुरी छ । हामी प्रकृतिलाई पूजा गर्दछौं । पशुपंक्षीलाई पूजा गर्दछौ र त्यसैमा रमाएर आनन्द लिन्छौ । प्रकृतिमा पाइने  रुखहरु बर,पिपल, बेल, रुद्राक्ष पूजा गरिन्छ । तुलसी र कुस पूजा गरिन्छ । जनावरहरुमा गाई, कुकुर, गोरु पूजा गरिन्छ भने  पंक्षिहरुमा काग ढुङ्गामा शालिग्राम पूजा गरिनु विश्वास कि अन्धविश्वास राम्ररी परिक्षण नगरि त्यसै परित्याग गरिदिनु बुद्धिमानी होइन ।

पशु भएर पनि मानिसको परिवारसंगै परिवारको सदस्य जस्तै भएर बस्न पाउने भाग्यमानी प्राणी हो कुकुर । हिन्दकुस संस्कारमा कुकरको पूजा गरिन्छ । कुकुरलाई मिठामिठा खानेकुरा दिइन्छ र कुकुरलाई पनि मानिस जस्तै माला लगाइन्छ । भलै शहरका गल्ली चहार्ने कुकुर किन नहोस वर्षको  एक दिन अर्थात कार्तिक कृष्ण चतुदर्शिका दिन अर्थात नरक चतुर्दशीका दिन कुकुरको भव्य पूजा गरिन्छ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारमा नेपालीहरु धुमधामका साथ चाड मनाउँदै गर्दा लक्ष्मी पूजाको अघिल्लो दिन अर्थात यमपञ्चकको दोस्रो दिनमा यमराजको दूत वा भैरवको बाहन कुकरको पूजा गरिन्छ । जसलाई नेपाली समाजको मौलिक विसेषताको रूपमा लिन सकिन्छ । आखिर मानिसले मनाउने चाडपर्वमा किन कुकुरको पूजा गरियो त ?

सामान्यतया कुकुर शब्द हेपाहा र उपेक्षित शब्द हो भन्ने गरिन्छ ।  कुकरले नपाउने दु: ख पाइयो, कुकुरको पुच्छर वाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै।  कुकरलई घ्यू पच्दैन । कुकुर भुक्दै गर्छ हात्ति लम्किदै गर्छ । भुक्ने कुकुरले टोक्दैन । उपरोक्त उखान टुक्का नेपाली लोकजीवनले प्रयोग गर्दै आएको पाइन्छ ।

यसबाट पनि के बुझिन्छ भने  कुकर हेपाहा र  विनाकामा लखर लखर हिड्ने प्राणी हो । गाइले दुध र गोबर दिन्छ । कुखुराले मानिसका लागि अण्डा मासु दिन्छ । गोरुले खेतबारी जोतिदिन्छ । भेडाच्याङ्ग्राले मासु र उन दिन्छ । तर कुकुरले मानिसलाइ उपभोग गर्नका लागि कुनै पनि चिज दिदैन । तै पनि मानसिले मानिसलाई नै हजारौं रुपैयाँ तलव दिएर कुकुरको हेरचाह र रेखदेखका लागि कर्मचारी राखिरहेका हुन्छन् ।

कुकुरलाइ मानिसको भन्दा पनि अझै मिष्ठान्न भोजन दिइन्छ ।केही कुकुरहरुले सहरको गल्लि गल्लि चहारे पनि केही कुकुरहरुले आलिसान महलमा आशन पाएका छन् । यति हुँदा हुँदै पनि मानिसले कुकुरको पूजा गरिनु भनेको यमराजको दुत सम्झेर वा भैरव देवताको बाहन मानेर मात्र होइन । देवताको बाहन मानेर घरमै राखेर पाल्ने र पूजा गर्ने भए मुसो गणेश भगवानको वाहन हो, बाघ देवी भगवतीको वाहन हो तीनीहरुको पूजा त गरिदैन । तसर्थ कुकुरको पूजा गर्ने विश्वको एक मात्र समाज नेपाल हो । हाम्रो यो संस्कृति विश्वमै आद्धितिय छ । किन हाम्रा पुर्खाहरुले हाम्रो संस्कृतिमा कुकुर पूजाको व्यवस्था गरेका रहेछन् जान्न, खोज्न र बुझ्न आवश्यक छ ।

 

  • स्वामि भक्त प्राणी कुकुर :

घरको सुरक्षाको लागि पालिने कुकुरलाई स्वामि भक्तको रुपमा पनि हेरिन्छ । यो मानिसहरुसँग अत्यन्त घनिष्टका साथ मिलेर बस्न सक्दछ । कुकुर परिवारको सदस्य हो । मानव इतिहासको पहिलो पाल्तु जनावर कुकुर नै मानिन्छ । कुकुरसँग मानिसको भावनात्मक  सम्बन्ध गासिन्छ । कुकुर बोल्दैन तर मानिससँग संवाद गर्न सक्छ । कुकुरले आफ्नो मालिकलाई निकै माया गरिरहन्छ । आफ्ना मालिकको आवाज, आफ्ना घरका सदस्यहरुको आवाज, गाडीको आवाज पहिचान गरि गेट सम्म पुगि स्वागत गर्छ । पुच्छर हल्लाउँदै लडिबुडी खेल्छ । इतिहाँसमा वाँदरहरुले भगवान रामलाई सहयोग गरेको कुराबाट पनि के बुझ्न सकिन्छ भने मानिसका लागि कुकुर पनि त्यक्तिकै सहयोगी प्रणी हो ।तसर्थ हामी मानिस हौं । हामीलाई भौतिक चिजले मात्र पुग्दैन । हामिलाई कुकुरले अभौतिक चिज दिन्छ ।  माया दिन्छ, समर्पण दिन्छ, भावना दिन्छ । कुकुर मानिसको साथ नछोड्ने जीव हो । कुकुर मित्र हो ।

  • कुकुर घरको बफादार चौकिदार :

बर्तमान समयमा कुकुर विना पनि घरको सुरक्षा गर्ने वैकल्पिक व्यवस्थाहरु पनि छन्  । तर परापूर्व कालमा मानिसको सुरक्षा गार्ड कुकुर नै थियो । अतितमा मानिसको सुरक्षा कुकुर बाहेक अरुबाट सम्वभ थिएन । कुकुरको साथमा भएपछि मानिस खुल्ला आकासमा पनि निर्धक्क निदाउन सक्छ ।घरमा कुकुर छ भने घरको सम्पत्ति सजिलै कसैले चोरेर लैजाने सम्भावना हुँदैन । हुम्ला, डोल्पाका दुर्गम गाउँवस्तिहरुमा पालिने भेडा च्याङ्ग्राको साथमा एउटा कुकुर अनिवार्य राखिएको देखिन्छ ।  कुकुरको असाधारण सुघ्ने क्षमता हुन्छ । घरको कुनै कोठाबाट कसैले समान चोरेर लिएपनि कुनै कुनै कुकुरहरुले चोरका पाइलाहरु सुँघ्दै चोर पत्ता लगाउन सक्छन् । यस्तै कुकुरले दैवीक विपत्तिमा सुँघेर वा फरक तरिकाले कराएर पूर्व सूचना दिन्छ भन्ने कुरा  कुकुर विशेषज्ञहरुले बताएका छन् । कुकुरको निन्द्रा एकदमै पातलो हुन्छ ।  कुकुर निदाएको जस्तो गर्छ तर यसको कान एकदमै पातलो हुन्छ । घरमा कोही व्यक्ति वा जीवजनावरको आगमन हुँदा कुकुर तुरुन्त जानकारी गराइदिन्छ ।

  • भावनात्मक सहयात्रीका रुपमा कुकुर :

भन्ने गरिन्छ कुकुर पाल्ने मानिसलाई डाइविटिज, रक्तचाप तथा मुटुको रोग लाग्दैन । यसको मनोवैज्ञानिक कारण के हुन सक्छ भने मानिसलाइ कुकुरले पहरा दिएको कारण चिन्ता र तनाव हुँदैन । कुकुर साथमा भए एक्लोपना पनि हुँदैन । मानिसको मानव पछिको सबैभन्दा धेरै आत्मियता भएको जनावर कुकुर हो । “खानाको अन्तिम गास, कुकुरको आस” भनेझै थाल सोहोरेर अलिकति भए पनि बचाएर कुकुरलाई दिने प्रचलन नेपाली समाजमा रही आएको छ । अझै भन्ने हो भने परापूर्व कालमा कुकुरले सिकारीको समेत काम गर्थ्यो । मानिसले  भाला वा वन्दुकले मारेका चराहरु घाइते भएर भुँइमा खस्न नपाउँदै कुकुरले खोसेर वा टिपेर ल्याउँथ्यो । कुकुरको यही सेवाबाट प्रभावित भएर त्यो सिकारी यूग देखि नै मानिसले कुकुरको पूजा गरेको हुनुपर्दछ ।

  • प्रहरी सेवामा उपयोगी/सहयोगी :

कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ । कैयौं पटक देखेका र सँगै काम गरेका मानिसलाई हामी विर्सउँला तर कुकुरले एक पटक देखेको मानिस र जनावरलाई कहिल्यै विर्सदैन । कुकुरको सुन्ने, सुँघ्ने र सम्झने क्षमतालाई बुझेर कुकुरलाई प्रहरी सेवामा प्रयोग गरिन्छ । स्पेसल डग सेक्यूरिटि बनाइन्छ ।  तसर्थ  कुकुरलाई इमान्दार पहरेदार, सुरक्षाकर्मी, चौकिदार वा स्वामी भक्तको रुपमा सम्झेर नेपाली समाजमा कुकुर पूजा गर्ने चलन रही आएको पाइन्छ ।

कुकुर तिहारको मौलिकता :

यमराजको ढोकामा द्धारपालकका रुपमा बस्ने स्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडीदिने विश्वासका अधारमा यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गरिन्छ । त्यस्तै कुकुरले सत्यबादी धर्मराज यूधिष्ठिरलाई स्वर्गको बाटोमा साथ दिएको धार्मिक विश्वास छ । सनातन धर्ममा जे विश्वास र मान्यता भएता पनि कुकुर पूजा नेपाल र नेपालीहरुको मौलिकता हो । कुकुर र मानव विचको अनन्त सम्बन्धको व्याख्या गर्ने चाड हो । प्रकृतिका सबै जीवहरुसँग मानिसको सहअस्तित्व छ । मानिस आफु मात्रै खुसी भएर हुँदैन । तुच्छ भन्दा तुच्छ, अपमानित प्रणीको पनि सेवा र सत्कार  गर्नसक्नु पर्छ भन्ने व्यवहारिक पक्ष जोडिएको छ । कुकुर पूजा यमराज र उनकी बहिनी यमुनाको प्राचिन कथा सँग मात्र जोडिएको छैन । इमान्दार, कर्तव्यनिष्ट, गुणकारी, क्षमतावान जनावार कुकुरको महत्वलाई सनातन संस्कारमा एउटा विशेष दिनको रुपमा स्थान दिएको पाइन्छ । यही अन्तरनिहित मर्म विश्लेषण हुन नसके हामिले मान्दै आएका संस्कृति चाडवाड केवल परम्पराको बिंडो थाम्ने मात्र हुन्छन् र कालान्तरमा हाम्रा चाडपर्व अन्धविश्वास र रुढीवादीमा परिक्षत हुनेछन् । तसर्थ हाम्रा यी प्राचिन तर जीवन संस्कारयूक्त सांस्कृतिक अनुसरणको अर्थबोध गर्न सक्नु पर्दछ ।

  यमपञ्चकको शुभकामना ।