स्वास्थ्य, सरसफाई र चेतनाको महत्व
तेजबहादुर थापा
स्वास्थ्य भन्नाले सामान्य अर्थमा कुनै पनि व्यक्ति शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण रुपले स्वस्थ रहनु हो । कुनै व्यक्ति आफ्नो वातावरण अनुकूल दैनिक रुपमा सहजै जीवनयापन गर्न सक्दछ भने स्वस्थ भएको मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार रोग र दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक तवरले सम्पुर्ण रुपले तन्दुरुस्त हुनलाई नै स्वास्थ्य भनिन्छ ।
स्वास्थ्य भनेको शारीरिक रुपमा मात्र तन्दुरुस्त हुनु होइन । नत यो कुनै एक पक्षमा मात्र स्वस्थ हुनु हो ।स्वास्थ्यलाई (Holistic Healthy)का रुपमा हेरीनु पर्दछ । त्यस्तै एक व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनलाई उसले दैनिक रुपमा उचित खानपिनका साथै योग, व्यायाम तथा खेलकुदमा भाग लिने जस्ता शारिरीक श्रम गरेको हुनुपर्छ ।
मानिस शारिरीक रुपमा मात्र स्वस्थ भएमा उसको स्वास्थ्य ठिक छ भन्न नसकिने हुँदा व्यक्ति सामाजिक रुपमा पनि स्वस्थ भएको हुनुपर्दछ । उसमा समाज अनुकूलका आनीवानी विद्यमान हुनुपर्छ । समाज सँगको असल सम्बन्ध तथा सोही अनुसारका व्यवहार प्रदर्शन गर्न सक्नुपर्दछ । समाजमा चलि आएका अशल रितिथिती परम्पराहरुको अबलम्बन गर्न सके मात्र उ सामाजिक रुपमा स्वस्थ भएको मानिन्छ ।
व्यक्तिको सकारात्मक सोच, धार्मिक आस्था र विश्वासमा तादाम्यता मिलेको अबस्थामा आध्यात्मिक रुपमा स्वस्थ भएको मानिन्छ । यस हिसावले व्यक्तिले जीवन र जगतलाई सही ढंगले बुझेको हुनुपर्दछ । मानिस पुर्ण रुपमा स्वस्थ हुनलाई पोषण, सरसफाई र चेतनालाई महत्वपुर्ण मानिन्छ ।
उपयुक्त तरिकाले सरसफाई नभएमा मानिसमा विभिन्न रोगहरु सर्ने संभावना हुन्छ । व्यक्ति र परिवारमा पूर्ण रुपमा सरसफाईको अबलम्बन गर्न सकिएन भने पानी जन्य रोगहरु (Water born Disease ) जस्तै झाडापखाला, आँउ, हैजा आदी रोगहरु लाग्न सक्दछन् । त्यस्तै हावाजन्य रोगहरु (Air Born Disease ) जस्तै स्वासप्रश्वास सम्बन्धी रोगहरु, प्रदुषणबाट सर्ने रोग लाग्दछन् । त्यस्तै खानाबाट सर्ने रोगहरु (Food Born Disease) जस्तै नाम्ले जुका, खाना अपच हुने आदी रोगहरु देखापर्दछन् ।
सरसफाईलाई पुर्ण रुपमा अबलम्बन गर्न सकियो भने मात्र यस्ता प्रकारका सरुवा रोगहरु तथा महामारीबाट बच्न सकिन्छ । नियमित रुपमा हातमुख र खुट्टा धुने, नुहाउने, लत्ताकपडाको सरसफाई गर्नुका साथै बातावरणीय सरसफाईमा ध्यान दिनुपर्छ । अहिले विश्वभर फैलिरहेको महामारी कोभिड –१९ रोग पुर्णतया सरसफाई र खानपिनका कारण उत्पन्न भएको मानिएको छ । शुरुमा यो रोग विकृत खाद्यबस्तु जस्तै राम्ररी नपकाएको माछामासुबाट सरेको अनुमान गरिएको छ । यो रोगबाट बच्नका लागि व्यक्तिले पुर्णतया सरसफाईको पालना गरेको हुनपर्नेछ । सामान्य अबस्था भन्दा अझ बढी । जस्तै पटक–पटक साबुनपानीले मिचि मिचि हात धुने, सावुन पानी उपलब्ध नभएका ठाउँमा स्यानीटाइजर प्रयोग गर्ने, भिडभाड भएका ठाउँमा नजाने, जानै परेमा सुरक्षित मास्कको प्रयोग गर्ने र अत्यावश्यक काममा मात्र घरबाहिर निस्कने आदी ।
अहिलेको महामारीबाट बच्नका लागि र संक्रमण भईहालेको खण्डमा पनि पोषणयुक्त आहार विहार र नियमित जीवनशैलीले यसबाट मुक्त हुन सहयोग पुग्छ । एक व्यक्ति पुर्ण रुपमा स्वस्थ हुनलाई सरसफाई जस्तै महत्वपुर्ण तत्व पोषण पनि हो । शरीरलाई आवश्यक पर्ने सन्तुलित खानालाई पोषण भनिन्छ । सामान्यतया खाना खाने, चपाउने, पचाउने, शोसिने तथा शरिरका विभिन्न भागमा भण्डारण हुने प्रक्रिया नै पोषण हो । पोषणमा गरिएको लगानीले १८ गुणासम्म प्रतिफल दिन सक्कने बताईएको छ । मानव विकास सूचाङ्कका शिक्षा, स्वास्थ्य र आयस्तर तिनवटै आयाममा पोषणमा गरिएको लगानीले सकारात्मक योगदान दिन्छ भनिएको छ । दिगो विकासका १७ वटा लक्ष्य मध्ये १२ वटा लक्ष्यका सूचकहरुमा अप्रत्यक्ष र लक्ष्य नं। १, २, ३, ६ प्रत्येक्ष रुपमा पोषणसँग सम्बन्धित छन् ।
व्यक्ति जन्मेदेखि बाँचुन्जेलसम्म उसको उमेर र अबस्था सुहाउँदो पोषणको आवश्यकता पर्दछ । उचित खाना र त्यसमा पाउने सबै प्रकारका पोषक तत्वहरुले एक व्यक्ति पूर्ण रुपले स्वस्थ रहन सहयोग पुग्दछ । अबस्था भन्नाले उमेर अनुसारका विभिन्न चरण जस्तै गर्भावस्था बाल्यावस्था युवावस्था र वृद्धावस्था आदी हुन । यी विभिन्न अबस्थामा व्यक्तिलाई भिन्न –भिन्न प्रकारका पोषण तत्वको आवश्यकता पर्दछ । बच्चा जन्मेर हुर्कदै गर्दा उसको वृद्धि र विकासमा सहयोग पुरयाउने तत्वहरु जस्तै खनिज पदार्थ, भिटामिन, कार्वोहाइड्रेट र प्रोटिन सबैको मात्रा मिलाएर खाना खुवाउनु पर्ने हुन्छ । यी सबै तत्वहरु बच्चालाई छ महिनासम्म आमाको दुधबाट प्राप्त भइरहेको हुन्छन । त्यसपछी भने उसलाई आमाको दुधबाट मात्र नपुग्ने भएकाले पुरक खाना (Supplementary food) जस्तै लिटो, जाउलो खुवाउनु पर्ने हुन्छ ।
गर्भावस्थामा सामान्य अबस्थामा भन्दा धेरै पोषक तत्वको आवश्यकता पर्दछ । वृद्धावस्थामा पनि क्याल्सीयम खनिज पदार्थ भएका थप खानाको आवश्यकता पर्दछ । मानिसले के गर्ने र नगर्ने भनी थाहा पाउनु चेतना हो । व्यक्तिको चेतन मनले उसका सबै व्यवहारलाई नियन्त्रण गरिरहेको हुन्छ । व्यक्तिले प्रदर्शन गर्ने सबै प्रकारका व्यवहारबाट उ कतिको सचेत व्यक्ति हो भन्ने जानकारी हुन्छ । हामीले जनाउने कतिपय व्यवहारहरु समय परिस्थिति र समाजद्धारा अपेक्षित हुन्छन् । अपेक्षा अनुकूल व्यवहार गर्न सक्दा मात्र नागरिक सबैको स्वीकार्य हने हो । व्यक्तिले समाजमा निभाउने भूमिकाका आधारमा हामीले समाजका रहने नागरिकहरुलाई बुद्धिजीवि, सचेत नागरीक, प्रबुद्ध, गन्यमान्य भन्छौ नि ।
दैलेख जिल्ला कोभिड–१९ को उच्च जोखिममा छ । हालसम्म यस जिल्लामा ८०० व्यक्ति संक्रमित भएको पुष्टी भईसकेको छ । दैलेख जिल्लामै पिसिआर प्रयोगशाला संचालनमा आइसकेको छ । परीक्षणको दायरा फराकिलो भयो भने यो संख्या अझ बढन सक्ने संभावना हुन सक्छ । हाम्रा धेरै दाजुभाईहरु रोजगारीका लागि भारत गएका थिए । उनिहरु बाध्यताले गर्दा उता संक्रमण फैलिसकेको अबस्थामा आफ्नो गाउँ फर्कि आउनु पर्ने भयो । जसका लागि हामीले प्रयाप्त तयारी गर्न सकेनौ । उपलब्ध स्रोत साधनको अभावले मापदण्ड बमोजिम क्वारिन्टिनहरुको व्यवस्थापन हुन नसक्दा क्वारेन्टिन नै रोग सार्ने माध्यम जस्ता भए । एकान्तबास बस्नेले पनि यो सब हामी र हाम्रै परिवार र समुदायका लागि हो भन्ने बुझ्न सकेनौ र बुझाउन पनि सकिएन् । लुकीचोरी भेटघाट गरेको । पुरै अवधि एकान्तबास नवेसेको । घर गैहाले पनि घरभित्र नबसी विगतमै जस्तो लाहुरे पारा देखाई गाउँ घर डुलेको, खानपिनमा रमाएको जस्ता अरु धेरै व्यवहारले कोरोना समुदाय स्तरमा समेत फैलिसकेको हो कि भन्ने आशंका गरिएको छ ।
यसरी मानव जीवनका लागि स्वास्थ्य, चेतना र सरसफाई परीपुरक तथा अन्तर सम्बन्धित पक्षहरु हुन् । यी सबै पक्षहरुमा भए गरेका कमी कमजोरीहरुलाई सुधार गर्दै उपलब्धीमूलक बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । घरमा अभिभावक र विद्यालयमा शिक्षकहरु जिम्मेवार र जवाफदेही हुने हो भने मात्र हाम्रा बालवालिकाले आफ्नो स्वास्थ्य, पोषण तथा सरसफाईमा ध्यान सक्दछन् ।
हिजो आज कोभिड १९ को संक्रमण तुलनात्मक रुपमा कम भएको देखिएको अबस्थामा हामीबाट थप कमजोरी हुन सक्ने अवस्था त्यत्तिकै विद्यमान छ । यो महामारीबाट कसरी बच्ने भनेर समुदायस्तरमा चेतना फैलाउने काममा माथिल्ला कक्षाका विद्यार्थी र शिक्षकहरुले सकारात्मक भूमिका निर्वाह गर्न सक्छन् । संक्रमण भईसकेका वालवालिका तथा जेष्ठ नागरिक र दृघरोगीहरुको विशेष ख्याल गर्नु पर्ने अबस्था छ ।
लामो बन्दाबन्दीको अबस्थामा विद्यार्थीको सिकाइ अबरुद्ध भएको छ । उनिहरुले प्रदर्शन गरेका व्यवहारहरुमा अभिभावकहरु सचेत रहनु पर्ने भएको छ । उनिहरु लामो समयसम्म विद्यालय जान नपाएकोमा निरास हुन सक्छन् । उनिहरुको सिकाइलाई बैकल्पिक माध्यमबाट सहजिकरण गर्नका लागि हाल रेडियो नेपाल तथा विभिन्न टेलिभिजनहरुबाट कक्षा संचालन भईरहेका छन् ।
हाम्रो जिल्लाको हकमा अधिकांसलाई यी विधिहरुले काम गर्दैनन् । तथापी जुन घरमा यी सुविधाहरु उपलब्ध छन् तालिका बमोजिम उपयोग गर्ने बातावरण अभिभावकले मिलाउनु पर्नेछ । स्थानीय तहहरुमा बैकल्पिक सिकाइ प्रबर्द्धनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पठाईएको बजेटबाट स्वा–अध्ययन सामग्रीहरु छपाई गरी वितरण गर्नु पर्नेछ । विद्यार्थीले प्राप्त गरेका पाठ्यपुस्तक र स्वा–अध्ययन सामग्रीको उपयोग अभिभावक र शिक्षकहरुको सहयोगमा हुन सक्छ ।
बालबालिकाले घरमा गर्ने कामकाज र बावु आमा तथा साथीभाईको संगतबाट पनि धेरै कुरा सिकिरहेका हुन्छन् । अभिभावकहरुले उनिहरुसँगै बस्ने, बालबालिकालाई समय दिने, उनीहरुका कुरा सुन्ने, पढाइ लेखाइका लागि वातावरण बनाई उत्पेरित गर्न सकियो भने बालबालिकामा देखिन सक्ने मानसिक विचलन तथा कुलतका व्यवहार समेत हुन पाउँदैनन् । अहिलेको परिस्थितिमा हामी सबैले जिम्वेवार, संवेदनशिल र धैर्यता कायम राख्ने कुरामा ध्यान दिन सक्दा मात्र कोभिड–१९ बाट हुने सबै प्रकारका क्षतीलाई न्यन गर्न सकिएला ।