Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

असारे विकासले बढ्दै बाढि पहिरोको जोखिम

दैलेख  : बजेट सक्ने बहानामा रातारात उपभोक्ता समिति निर्माण गर्ने र रातारात डोजर चलाएर मोटो रकम सक्ने विगतको परम्पराका कारण दैलेखका अधिकांश ग्रामीण बस्ती बाढी र पहिरोमा जोखिममा परेका छन् । उपभोक्ता समिति मार्फत काम गर्ने सम्झौता भए पनि उपभोक्ता समितिले डोजर मालिकलाई ठेक्कामा बेच्ने गरेका कारण बर्सेनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ । बजेट सक्ने हतारोमा रातारात सम्झौता गर्ने विगतको परम्परा स्थानीय सरकारले समेत निरन्तरता दिएपछि अहिले प्रत्येक दुर्गम गाउँमा खनिएका सडकका कारण बाढी पहिराको जोखिम बढ्दै गएको छ ।
अघिल्लो आर्थिक वर्षमा दैलेखका ९० वडामा ९८ डोजर प्रयोग भएका थिए । स्थानीय सरकारका जनप्रतिनिधिकै मिलेमतोमा उपभोक्ता समिति निर्माण गर्ने र उपभोक्ता समितिलाई समिति रकम दिएर जनप्रतिनिधिले नै सडक निर्माण गरेका कारण अघिल्लो आर्थिक वर्षमा त्यसको व्यापक विरोध समेत भएको थियो । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् ।

बजेट सिद्ध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको वितण्डाको असारका पहिलो हप्तामै परेको बर्सातमा देखिन थालेको छ ।नारायण नगरपालिका वडा ६ का श्याम प्रसाद न्यौपानेले बजेट सिद्ध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको बताए । उनले जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरका कारण ग्रामीण बस्तीहरू जोखिममा पर्ने गरेका बताए
प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एक्स्काभेटर जस्ता बढी भारका उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपतको जोखिम बढाए पछि स्थानीय सरकारले अ वगर्ने विकास निर्माणका काममा डोजर नलगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधवार सार्वजनिक गरिएका नीति तथा कार्यक्रममा युवाहरूलाई रोजगार सिर्जना गर्न डोजर विस्थापित गर्ने नारा अगाडी सारेका छन् । भगवतिमाई गाउँपालिका दैलेखका अध्यक्ष दान बहादुर थापाले डोजरले निर्माण गरेका सडकहरूका कारण बस्ती समेत जोखिममा पर्ने र बाढी भु–क्षय जस्ता प्राकृतिक विपत्ति आउने युवा गाउँपालिकाले अघिल्लो वर्ष बाट युवा विस्थापित र डोजर स्थापित नारा अघि सारेको बताए । उनले मानिसले नगर्ने स्थानमा मात्र डोजर चलाएको स्वीकार गरे । नारायण नगरपालिका,दुल्लुनगरपालिका चामुण्डाबिन्द्रासनैनी नगरपालिकाका जनप्रतिनिधिले डोजरलाई पूर्ण रूपमा निषेध गर्ने तयारी गरेको प्रतिक्रिया दिएका छन् ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेकोले यो बर्षमा बाट डोजर लगाएर खन्ने विकास बन्द गरिने बताए ।