Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कर्णाली प्रदेशमा १० दिनमा १४ हजार भित्रिए


सुर्खेत : १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा भित्रिएका मध्ये अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।भारतले रेल सेवा खुल्ला गरेपछि अहिले विशेषगरी मौसमी रोजगारका लागि भारत गएकाहरु फर्कनेको ओइरो लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सीमा नाका सुर्खेतको बबईमा दैनिक एक हजार बढी आइरहेका छन् । बबईमा मानिसहरुको ओइरो लाग्ने गरेको छ बबईमै आरडीटी परीक्षणको पनि व्यवस्था मिलाइएको छ । मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले भारतबाट आउनेहरु बबईमा रोकेर परीक्षण गरेपछि मात्र भित्रिन दिइएको जानकारी दिए उनले जेठ ६ गते यता दैनिक एक हजारदेखि दुई हजारसम्म कर्णालीबासी भित्रिने गरेको बताए । कर्णालीमा २५ हजार बढी भित्रिने अनुमान गरिएको छ ।
कर्णाली प्रदेशमा विहीवारसम्म कोरोना पुष्टि भएका ४६ जना सवै यही अवधिमा भारतबाट आएकाहरु हुन् । भारतबाट आउनेहरुका कारण कोरोना सङ्क्रमण दर तीव्र गतिमा फैलिएको छ । जेठ महिनाअघि सम्म सङ्क्रमित नदेखिएको कर्णालीमा अहिले दैनिकजसो सङ्क्रमण देखिएको छ । विहीवार मात्रै दैलेखका थप आठ जनामा कोरोना पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा सवैभन्दा धेरै सुर्खेतमा कोरोना पुष्टि भएको छ । विहीवारसम्म सुर्खेतका २८ जनामा पुष्टि भएको छ । त्यसपछि दैलेखका १६, बझाङका एक र ठेगाना नखुलेका एक जना रहेका छन् । भारतबाट आएकाहरूलाई बबई नाकामा राखेपछि सुर्खेतकालाई त्यही आरडीटी परीक्षण गरिएको छ भने अन्य जिल्लाका लागि बसमा राखेर सम्बन्धित जिल्लाको नाकामा परीक्षणको व्यवस्था मिलाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार दुर्गम हिमाली जिल्लाका बासिन्दालाई पनि सुर्खेतमै क्वारेन्टाइनमा राखेर स्वाव परीक्षण गर्ने गरिएको छ भने दैलेख, सल्यान, रुकुम, कालीकोटलगायतका जिल्लाका बासिन्दालाई बसमा राखेर सम्बन्धित जिल्लामै पु¥याई परीक्षणको व्यवस्था मिलाइएको छ ।
यता भारतबाट दैनिक हजारौं बासिन्दा आउन थालेपछि क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनको कामका लागि सेना परिचालन गर्न संघीय सरकारसंग प्रदेश सरकारले स्वीकृति माग गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जनपद र सशस्त्र प्रहरी परिचालन गरिए पनि अन्य सुरक्षाका काम गर्नुपर्ने हुँदा र भारतबाट आउनेहरुको चाप बढेकोले महामारीको रुप लिनसक्ने भयले क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि सेना परिचालन गर्ने स्वीकृति संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको हो । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले क्वारेन्टाइन व्यवस्थापनमा सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति माग गरिएको जानकारी दिइन ।
कर्णालीमा कोरोना सङ्क्रमित पुष्टि भएका सवैलाई सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेनमा राखिएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले सीमा नाकामा तत्काल क्वारेन्टाइन निर्माण गर्नुपर्ने र त्यो काम नेपाली सेनालाई दिनुपर्ने बताए । उनले भारतबाट कर्णाली प्रदेश भित्रिनेहरुका कारण कोरोना फैलने भएकोले समयमै सावधानी नआपनाएमा कर्णाली प्रदेशले इटालीको झैं नियति भोग्नुपर्ने ट्वीट गरेका छन । ।साभार गोरखापत्र