Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

भर्नापहिले विद्यालय जाँचबुझ

२० चैत, काठमाडौँ ।  चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको रोजाइमा पर्ने विद्यालयको सङ्ख्या सीमित छ, तापनि कक्षा एकमा भर्ना गर्नुपर्ने विद्यार्थीको सङ्ख्या भने धेरै छ, करिब आठ लाख ।

अभिभावकले आफ्नो बच्चालाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने वा घरमै पढाउने हो, निर्णय लिन सहजै हुन्छ । हाम्रो सन्दर्भमा बच्चालाई घरमै पढाउनु त्यति सजिलो छैन, स्वीकार्य छैन र अभ्यासमा पनि छैन । सार्वजनिक विद्यालयहरूले अझै अभिभावकहरूको ध्यान तान्नसकेका छैनन् । आयले धानेसम्म अभिभावकहरूको छनोटमा संस्थागत विद्यालय नै हुन्छन् । सार्वजनिक विद्यालयहरू छनोटमा नपरुन्जेल अभिभावकको तनाव कम हुने छाँट छैन ।

हामीकहाँ बाह्र–सत्ताइस थरीका संस्थागत विद्यालय छन् । तिनको स्रोतसाधनको उपलब्धतामा, पठन–पाठनको तौरतरिकामा भिन्नता छ । यही भिन्नताले अभिभावकलाई दिग्भ्रमित पार्ने गरेको छ । विद्यालयहरूको शब्दजालले अझ अलमलमा पारेको छ—एक्काइसौं शताब्दी सुहाउँदो व्यावहारिक शिक्षा, अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति, मौलिक पाठ्यक्रम, रचनात्मक सिकाइ, प्रयोगात्मकशिक्षण सिकाइ, विद्यार्थीको प्रतिभा अनुसारको शिक्षा … । यी शब्दावली सुन्दा राम्रै छन्, विद्यालयको व्यवहारमा तादात्म्य नहुन सक्छ ।

अभिभावकहरूले आफ्ना बच्चाको क्षमता के हो, रुचि केमा छ, कमजोरी के–के हुन्, स्वभाव कस्तो छ, सिकाइमा उसका आवश्यकता के–के हुन् भन्ने थाहा पाउनुपर्छ । विद्यालयको दर्शन र मूल्य–मान्यता अभिभावकको मूल्य–मान्यतासँग मेल खान्छ कि खाँदैन, तपाईंले सिकाउन खोजेको संस्कार दिन विद्यालयले सकारात्मक भूमिका खेल्न सक्छ कि सक्दैन भन्ने पनि ख्याल गर्नुपर्छ । शिक्षकको योग्यता कति छ, तालिमप्राप्त र पेसागत दक्षता हासिल गरेका हुन् कि हैनन् ? तिनलाई जीवनयापन गर्न पुग्नेगरी तलब छ कि छैन जस्ता पक्षमा पनि चासो दिनुपर्छ । थोरै तलब पाउने, कम योग्यता भएका शिक्षकहरूबाट गुणस्तरीय सिकाइको अपेक्षा गर्न सकिँदैन ।

अर्को कुरा, विद्यालय तपाईंको निवासबाट टाढा छ, आउ–जाउ गर्दा साह्रै ट्राफिक जाममा पर्छ भने त्यतातिर ध्यान नदिएकै राम्रो । नानीबाबुहरूलाई प्रशस्त आराम गर्ने, सामाजिकीकरण गर्ने, खेल्ने र मनोरञ्जन गर्ने समय चाहिन्छ । उनीहरूले जति धेरै समय अभिभावकसँग बिताउन पाए, त्यति राम्रो । विद्यालय टाढा भए आउ–जाउ गर्दै उनीहरू थाकिसकेका हुन्छन् र घरमा अध्ययन गर्ने, अभिभावकसँग बोल्ने समय नै पाउँदैनन् ।

धेरै अभिभावकको गुनासो शुल्कमा हुन्छ । विद्यालयले शुल्क घुमाउरो पाराले तोकेभन्दा बढी लिने र हरेक नयाँ शैक्षिक सत्रमा बढाउने गरेका छन् । विद्यालय छनोटमा यो पक्षबारे पनि चनाखो हुनुपर्छ । विद्यालयको आकार र शिक्षक–विद्यार्थी अनुपात पनि विचार गर्नुपर्छ । व्यक्तिगत देखभाल चाहिने बच्चाका लागि जतिसक्दो थोरै विद्यार्थी भएको र शिक्षक–विद्यार्थी अनुपात कम भएको विद्यालय उपयुक्त हुन्छ ।

एकभन्दा धेरै सन्तान भएका अभिभावकले सबैलाई सकेसम्म एउटै विद्यालयमा पढाउनुपर्छ । विद्यालय एउटै भैदियो भने जाडो र गर्मी बिदा, परीक्षा र शिक्षकसँगको अन्तरक्रियामा समय मिलाउन सजिलो हुन्छ । बच्चाका लागि विद्यालय छान्दा तिनका साथीभाइ कहाँ पढ्छन् भन्ने कुराले पनि अर्थ राख्ने गर्छ । साथीभाइकै विद्यालयमा भर्ना गरियो भने बच्चाले मनोवैज्ञानिक रूपमासुरक्षित महसुस गर्न सक्छन् । विद्यालयमा आफूलाई सुरक्षित ठान्न नसके बच्चाको ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझाइमा प्रभाव पर्न सक्छ ।

अभिभावकले हेर्नुपर्ने अर्को पक्ष हो— सिकाइका लागि सहयोगी भूमिका खेल्ने खेल मैदान, पुस्तकालय, दृश्यकला, प्रदर्शन कला, क्लब क्रियाकलाप, खेलकुद । यी सेवासुविधा भएका विद्यालयले मात्र तपाईंका बच्चाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन सक्छन् ।

विद्यालयले जीवनोपयोगी कौशल सिकाउन के गरेको छ ? विचार गर्नुपर्छ । कोरा किताबी ज्ञान त घरैमा राखेर पनि दिन सकिन्छ ! विद्यार्थीका लागि चाहिने व्यावहारिक सीप तथा सोचाइ सीपहरूलाई कत्तिको महत्त्व दिइएको छ ? बुझ्नुपर्छ । यी सीपहरू अबको कक्षाकोठामा उपलब्ध गराइएन भने विद्यार्थी काम न काजका हुन सक्छन् ।

विद्यालयले अभिभावकहरूलाईआफ्ना क्रियाकलापमा सहभागी गराउनुपर्छ । अभिभावकको भूमिका विद्यार्थीको सिकाइमा कसरी विचार गरिएको छ ? घर–विद्यालय सञ्चार कसरी सुनिश्चित गरिएको छ ? विद्यालय र समुदायलाई कसरी जोडिएको छ ? यसबारे बुझ्नुपर्छ । अभिभावकको सक्रिय सहभागिता भएको विद्यालयमा पढ्ने विद्यार्थीको ज्ञान निर्माण र सीप तथा कौशल सिकाइ सुदृढ र सबल हुन्छ ।

अभिभाकहरूले आफ्नो परिवारका भावना र मूल्यहरू विद्यालयका भावना र मूल्यहरूसँग मेल खान्छन् कि खाँदैनन्, हेर्नुपर्छ । आफ्ना संस्कार, धर्म, रीतिरिवाजलाई नानीबाबु अध्ययन गर्ने विद्यालयले कत्तिको सम्मान गर्छ ? नानीबाबु पढ्ने विद्यालयले कतै एउटामात्र धर्म, भाषा र संस्कृति, रीतिरिवाजलाई प्रोत्साहन गर्नेगरी क्रियाकलापहरू सञ्चालन त गरिरहेको छैन ? बुझ्न जरुरी छ । विद्यालयले कतिपय क्रियाकलाप जबर्जस्ती गरिएका उदाहरण छन् ।

इच्छाविपरीत कसैको भावनामा चोट पुर्‍याउने हिसाबले कलिला विद्यार्थीलाई जबर्जस्ती विद्यालयको क्रियाकलापमा सहभागी गराउनु राम्रो होइन । तपाईंले यस्तो विद्यालय खोज्नुस्, जसका कक्षाकोठाले समाजको प्रतिनिधित्व गरेका होऊन् । सानै उमेरदेखि समाजको प्रतिनिधित्व गर्ने कक्षाकोठामा राखेर ज्ञान र सीप सिकाइयो भने मात्र भोलिका दिनमा सहजै बच्चा समाजमा केही योगदान दिन सक्ने र सफलतापूर्वक केही गर्नसक्ने नागरिक बन्न सक्छन् ।

तपाईंले जुन विद्यालयमा आफ्ना नानीबाबुलाई भर्ना गराउन खोज्दै हुनुहुन्छ, त्यो विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक, विद्यालय नेतृत्व समूहका सदस्यहरूले आफ्ना छोराछोरीलाई त्यसैमा पढाएको हुनैपर्छ । उनीहरूले आफ्ना नानीबाबुलाई त्यहीँ पढाएका भए तपाईं ढुक्क हुन सक्नुहुन्छ । उनीहरूले आफ्ना नानीबाबुलाई चाहिँ अन्यत्रै भर्ना गरेका भए तपाईंले त्यो विद्यालयको बाटै नहिँडेको बेस । जसलाई आफूले सञ्चालन गरेको वा काम गरेको विद्यालयप्रति विश्वास छैन, तिनलाई तपाईंले पनि किन विश्वास गर्ने ?

वातावरण अभिभावक र बालमैत्री छ, सेवासुविधामा विद्यार्थीको उमेर र कक्षा अनि रुचिलाई ध्यानमा राखिएको छ, सिकाइ कक्षाकोठा बाहिर पनि सम्भव बनाइएको छ, सिकाइलाई पाठ्य–पुस्तकभन्दा बाहिर निकालिएको छ,
ज्ञान निर्माण, सीप सिकाइ तथा अवधारणाविकासलाई जीवन र जगतसँग जोडिएको छभने तपाईंले आफ्ना सन्तानका लागि त्यही विद्यालय छनोट गर्नुपर्छ ।

कान्तिपुर डेल्ली बाट

error: Content is protected !!