Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ

१६ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल, सडक र सुरुङमार्ग सरकारको प्राथमिकतामा रहेको बताएका छन् । विकासको प्रमुख आधार नै यातायात सञ्जाल भएको भन्दै उनले सरकारले पनि यसैलाई प्राथमिकतामा राखेको बताए ।

लगानी सम्मेलन अन्तर्गत यातायात पूर्वाधारसम्बन्धी सत्रको अध्यक्षता गरेका मन्त्री महासेठले भने, ‘भौतिक पूर्वाधार र यातायात सञ्जाल नै विकासको प्रमुख आधार हुन्, त्यसैले सरकारको प्रमुख प्राथमिकतामा समेत रेल, सडक, सुरुङमार्ग छ ।’

सुरुङमार्ग अन्तर्गत केही परियोजनाहरु अघि बढेको समेत उनले बताए । छिमेकी राष्ट्र चीन र भारत समेत सम्पर्क सञ्जाल विस्तारमा लागेको भन्दै उनले सरकारले निजी क्षेत्रलाई पनि साथमा लिएर भौतिक पूर्वाधारको काम गरिरहेको बताए ।

मन्त्री महासेठले केरुङ–काठमाडौं रेलमार्ग पनि सरकारको प्राथिमकतामा रहेको बताए । ‘आउँदो ६ महिनाभित्र उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेर मोडालिटीको टुंगो लाग्छ’, उनले भने ।

प्रि फिजिबिलिटी अध्ययनको काम सकिएकाले छिटै डीपीआर निर्माणको टुंगो लाग्ने उनको भनाइ छ । झण्डै ३ अर्ब लागत लाग्ने अनुमान गरिएको केरुङ–काठमाडौं रेलमार्गको लगानी जुटाउने सन्दर्भमा सरकारले चाडैं निर्णय गर्ने मन्त्री महासेठले बताए । ्

पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । ‘स्ट्याण्र्डड गेज’मा निर्माण हुने सो रेलमार्गको कूल लम्बाइ एक हजार १०० किलोमिटर बराबरको हुनेछ ।

उत्तर–दक्षिण जोड्ने विभिन्न सडक आयोजनाको कामसमेत अगाडि बढेको छ । चीन र भारतलाई जोड्ने भौतिक पूर्वाधारको विकासका विभिन्न सञ्जालसमेत अगाडि बढेका छन् ।

सरकारले पछिल्लो समयमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमकिता दिएको भन्दै मन्त्री महासेठले बिना हिच्किचाहट लगानीका लागि लगानीकर्तालाई आमन्त्रणसमेत गरे ।

सरकारले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणको काम गरिरहेको तथा अन्य ठूला परियोजनासमेत सञ्चालन गरिरहेको सन्दर्भमा स्वदेशी तथा विदेशी लगानी आफूहरुको प्राथमिकतामा रहेको मन्त्री महासेठको भनाइ थियो ।

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको र केही समयभित्रै थप अध्ययन हुने र लगानीका उपायसमेत खोजी गरिने मन्त्री महासेठको भनाइ छ । यस्तै काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागिसमेत मोनो रेल निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिए ।

चाइना रेल्वे इन्टरनेशनलका उपमहाप्रबन्धक वाङ जिजिङले आफ्नो देशले नेपालमा रेलमार्गको सञ्जाल जोड्ने कार्यक्रमलाई विशेष प्राथिमकतामा राखेको जानकारी दिए ।