Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

विश्वकै अग्लो त्रिशुल हेर्नेको घुइचो

फाईल फोटो

रीता लामा
घोराही, ९ फागुन । देउखुरीको भालुवाङबाट आएकी रोशनी वली पाण्डवेश्वरी धाममा फोटो खिच्दै गरेको भेटिए । शिवजीकी भक्त वली पछिल्लो समय महिना दुइ महिनामा एक पटक पाण्डवेश्वरी धाममा आउछिन । त्यसको एउटै कारण छ विश्वकै अग्लो त्रिशुल । उनले पटकपटक अवलोकन गरि सकेको भए पनि कहिले घर परिवार, कहिले गाउँका साथीहरु त कहिले कलेजका साथीहरुको सारथी बनेर उनी त्यहाँसम्म आउने मौका पाइरहेका छन । पटक पटक आउन पाउदा आफुलाई निकै रमाइलो लागेको बताउछिन ।

घोराही उपमहानगरपालिका वडा नम्वर ५मा रहेको पाण्डवेश्वर धाम दाङको निकै चर्चित धार्मिक स्थल हो । पछिल्लो समय उक्त स्थानमा विश्वकै अग्लो त्रिशुल निर्माण गरे पछि र तिव्र रुपमा पुर्वाधार निर्माणको काम सुरु भए पछि अवलोकन गर्नेको भिड बढेको छ । मन्दिरलाई आर्कषक बनाउने भन्दै मन्दिर व्यवस्थापन समितीले मन्दिर नजिकै विश्व कै अग्लो त्रिशुल निर्माण गरेको छ । सोही त्रिशुल हेर्नेहरुको घुइचो दिनानुदिन बढ्दो छ । उक्त त्रिशुल हेर्न जिल्ला भित्र र छिमेकी जिल्ला मात्र नभई नेपाल भरीका तिर्थ यात्रु आउछन । त्यो भन्दा पनि बढी त छिमेकी देश भारतबाट मन्दिरसम्म अवलोकनको लागि आइपुग्छन । विभिन्न स्थानबाट पाण्डवेश्र मन्दिर हुदै स्वगद्धारी पुग्नेको भिड पनि उस्तै हुन्छ ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीका अनुसार त्रिशुल हेर्न कै लागि सरदर दैनिक एक हजार जना आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँसम्म आइपुग्छन । पहिले पहिले सोमवार पुजापाठको लागि फाटफुट जाने गर्दथे र शिवरात्रीको दिन विशेष मेला लाग्ने पाण्डवेश्वर धाममा हिजोआज दर्शकको बाक्लै उपस्थिती देखिन्छ । मन्दिर नजिक ठुलो त्रिशुल बने पछि पर्यटकको संख्या ह्वात्तै बढेको उहाँ बताउनुहुन्छ । पुजा गर्ने भन्दा पनि त्रिशुल नजिक फोटो खिच्ने, रमाउनेको संख्या धेरै छ ।
पञ्च धातुबाट निर्मित

धारापानी धाममा रहेको विश्वकै अग्लो त्रिशुल पञ्चधातुले निर्माण गरिएको छ । त्रिशुलको उचाइ ५५.५ मिटर अग्लो छ भने गोलाई ४४४ इन्च छ ।
त्रिशुल तीन भागमा छ विभाजित छ । त्रिशुलको बाहिरी भाग तामा, भित्र भाग फलाम, टाउको तीन वटा चुच्चो पित्तल र त्रिशुलमा राखिएको बन्चरो काँसको छ भने केही थोरै मात्रामा चाँदी पनि मिसाइएको छ ।

सात हजार, सात सय १८ किलो फलाम, २२६.३६ किलो तामा, १० किलो कांस र २५५ किलो पित्तल मिसाइएको छ । मन्दिर व्यवस्थापन समितीका सचिव विष्णुराम आचार्यका अनुसार त्रिशुलको जग निर्माणको लागि मात्रै पाँच हजार २५० किलो फलाम प्रयोग भएको छ । त्रिशुल २०७१ फागुनमा बुटवलको एक फलाम उद्योगबाट बनाएर दाङ ल्याइएको थियो ।

त्रिशुलको पर्यटन मन्त्रीले उत्घाटन गर्ने

धारापानी धाममा करिव ४ बर्ष पहिले बनेको विश्वकै अग्लो त्रिशुलको उद्घाटन गर्न फागुन १४ गते पर्यटन तथा नागरीक उडड्यन मन्त्री रविन्द्र अधिकारी दाङ आउने भएका छन । धारापानी धाममा आयोजना हुन लागेको महायज्ञको प्रचारप्रसारका लागि पुगेको मुल आयोजक समितिले मन्त्री अधिकारीलाई भेटेर उत्घाटनको मिति जुराएको हो ।

फागुन ११ गते देखि धारापानी धाममा सुरु हुन लागेको महायज्ञको निम्तो दिन पुगेको मुल आयोजक समितिको टोलीसंग पाण्डवेश्वर महादेव धामको प्रवद्र्धनमा सरकारको विशेष प्राथमिकता रहेको मन्त्री रविन्द्र अधिकारीले बताएको मुल आयोजक समितीका महासचिव विष्णुराम आचार्यले जानकारी दिए ।

पाण्डवेश्वर धामजस्ता धार्मिक आस्थाको धरोहरहरुको प्रवद्र्धन गरि आन्तरिक तथा बाह्रय पर्यटक पु¥याउन सरकारले धामको विकासमा लाग्ने र पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमूना पर्यटकिय स्थल बनेको चर्चा गर्दै सरकारको सबैखाले साथ र सहयोग गर्ने मन्त्री अधिकारीको आश्वासन दिएको बुझिएको छ ।

पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।

पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिको पछिल्लो तथ्याङ्क अनुसार दैनिक एक हजारको हाराहारीमा धारापानीको अध्ययन अवलोकन गर्न मानिसहरु पुग्ने गरेका छन् । आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्ने पाण्डवेश्वर धाम सबै आस्थावानहरुको गन्तव्य बन्दै गएको छ । धार्मिक महत्व तथा प्राकृतिक सौन्दर्यताले सजिएको पाण्डवेश्वर धाम क्षेत्र पर्यटनका सबै आयामले अब्बल भएको पर्यटन विज्ञहरुको प्रतिक्रया छ । शिव धाम भएकोले महाशिवरात्रीमा साविकको मध्यपश्चिमकै ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन् ।